हेटौँडा : बागमती प्रदेशको ३ आर्थिक वर्षमा खर्चको अवस्था सुधार देखिएको छ । प्रदेश सरकारको विगतको २ र चालु आर्थिक वर्ष २०८१/८० को खर्चको तथ्यांकमा सुधार देखिएको हो । समग्र खर्चको अवस्था मुल्यांकन गर्दा प्रदेश सरकारको खर्चको सामथ्र्य वृद्धि भएको देखिन्छ । चालु आर्थिक वर्षको प्रारम्भिक खर्चमा ३ प्रतिशतले सुधार देखिएको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारका मन्त्रालय र निकायहरुले कुल खर्चमा ३.०५ प्रतिशतले वृद्धि गरेका छन् । प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौंडाको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ७४ प्रतिशत बजेट खर्च भएको छ । उक्त खर्च प्रदेश सरकारको हालसम्मको उच्च दर हो । बागमतीको तीन आर्थिक वर्षको बजेट खर्च विश्लेषण गर्दा बजेटको सम्पूर्ण कार्यान्वयन अझै पनि चुनौती विषय बनेको छ ।
आर्थिक वर्ष २०७९/८० मा बागमतीको कुल ७० अर्ब ३३ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा ४६ अर्ब ६६ करोड २० लाख रुपैयाँ मात्र खर्च भएको थियो । सो वर्ष बजेटको आकार समेत वृद्धि भएको थियो भने खर्चको अवस्था ६६.०६ प्रतिशतमा सीमित भएको थियो । सो वर्ष खर्च प्रतिशत अघिल्लो वर्षको तुलनामा २३.१४ प्रतिशतले वृद्धि भएको थियो । गत आर्थिक वर्ष २०८०÷८१ मा ७ अर्व बढी बजेट घटाएर प्रस्तुत हुँदा तुलनात्मक रुपमा बजेट खर्चमा दर पनि घटेको देखिन्छ । तर, बजेटको आकार र खर्चको स्थिति अनुसार भने उक्त वर्षमा विगत कै अनुपातमा खर्च भएको देखिन्छ । सो वर्ष बजेट घटाएर ६२ अर्ब ७० करोड ९१ लाख रुपैयाँ निर्धारण गरिँदा ४४ अर्ब ५५ करोड ३३ लाख रुपैयाँ बजेट खर्च भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा सो वर्षमा ५.०१ प्रतिशतले बजेट खर्च घटेको देखिन्छ । उक्त वर्षमा कुल बजेटको ६९ प्रतिशत रकम खर्च भएको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा भने बजेट खर्चको अवस्थामा सुधार आएको देखिन्छ । गत वर्षको तुलनामा बजेटको आकार बढाएर ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बनाइएको थियो । कुल विनियोजित बजेट मध्ये ४७ अर्ब ३० करोड रुपैयाँ (७४.५ प्रतिशत) खर्च भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको खर्चमा ३.०५ प्रतिशत सुधार आएको देखिन्छ । समग्र खर्चको अवस्थामा सुधार देखिएपनि अझै पनि करिब २५ प्रतिशत बजेट खर्च हुन सकेको छैन । हरेक वर्ष १६ देखि २० अर्व रुपैयाँ बजेट फ्रिज हुँदा प्रदेश सरकारका नीति, योजना कार्यान्वयन तथा वित्तीय अनुशासनमा चुनौती रहेको देखिन्छ ।
चालु खर्चमा १० प्रतिशत वृद्धि
बागमती प्रदेशको बजेट समग्र खर्चमा सुधार भएपनि पुँजीगत खर्च भने अझै कमजोर देखिन्छ । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको चालु तर्फको खर्चको अवस्था बढेको देखिन्छ भने पूजीँगत खर्च घटेको छ । चालु आर्थिक वर्षमा चालु तर्फको खर्चमा १० प्रतिशतले वृद्धि हुँदा पूँजीगत खर्च ०.९६ प्रतिशतले घटेको छ । लेखा नियन्त्रकको कार्यालयको पछिल्ला तीन आर्थिक वर्षको बागमतीको बजेट खर्चमा पुँजीगत खर्चको प्रभावकारिता कमजोर देखिएको हो । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० मा चालु खर्च ६७ प्रतिशत थियो भने पुँजीगत खर्च ६७.७७ प्रतिशत थियो ।
२०८०/८१ मा चालु खर्च घटेर ६०.७५ प्रतिशतमा सीमित हुँदा पुँजीगत खर्च ७९.४६ प्रतिशत पुगेको थियो । तर २०८१/८२ मा चालु खर्च तीव्र वृद्धि भएर ७१.५० प्रतिशत पुगेको छ भने पुँजीगत खर्च ७८.५० प्रतिशतमा खुम्चिएको छ । चालु खर्चमा १०.५० प्रतिशत वृद्धि भए पनि पुँजीगत खर्च ०.९६ प्रतिशतले घट्नु प्रदेशको विकास योजना कार्यान्वयनमा कमजोरीसंगै संरचनागत सुधारको आवश्यकता रहेको देखिन्छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारको संरचनाहरु वृद्धि भएका छन् । प्रदेश सरकारले नयाँ एक मन्त्रालय सहित विभिन्न निकायका कार्यालयहरु र विभिन्न संरचना निर्माण गरेर कर्मचारी तथा पदाधिकारी खर्च गर्दा चालु खर्चमा वृद्धि भएको देखिन्छ । सरकारले गत असोजमा प्रदेशमा सहकारी तथा गरिवी निवार मन्त्रालय खडा गरेको थियो भने विभिन्न समिति तथा बोर्डहरुमा कर्मचारी तथा पदाधिकारी नियुक्त गरेको थियो ।











