हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको नगरसभा आज शुक्रबार बिहान बस्दै छ । असार १० गते बसेको नगरसभामा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने गरी आज बिहान ८ बजेका लागि हेटौँडा–२ स्थित पल्पसा होटलमा नगरसभाको बैठक बस्दैछ । असार १० गते बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । नगरसभामा प्रस्तुत भएको बजेटमाथि नगरसभाका सदस्यहरुले टिप्पणी गर्दै बजेट पारित गर्ने बेलामै बजेट पुस्तिका तयार हुनुपर्ने माग राखेका थिए ।
नगरसभा सदस्यले नगरसभामा प्रस्तुत भएको बजेट तथा कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरुले हेरफेर गर्ने गरेको आरोप लगाउँदै नगरसभाले पारित गर्ने समयमै बजेट पुस्तिका तयार हुनुपर्ने माग राखेका हुन् । यद्यपि हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बजेट पुस्तिका तयार नहुने स्पष्ट पार्नुभएको छ । उहाँले बजेटको अन्तिम खाका तयार भइनसकेको र अन्तिम खाका तयार भएपछि पनि अनलाइन प्रणालीमा बजेट तथा कार्यक्रम समावेश गर्न समय लाग्ने भएकोले बजेटको मस्यौदा प्रिन्ट गरेर नगरसभा सदस्यलाई उपलब्ध गराइने बताउनुभएको छ ।











