हेटौँडा : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो । बैठकले प्रदेश सरकारको बजेटको पुरक प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई विनियोजन विधेयकको अंग बनोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकले बहुमतले स्वीकृत गरेको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभामा पेश गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । मन्त्री काफ्लेले पेश गरेको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेश गर्नुभएको थियो । सभामुख पाठकले निर्णयार्थ पेश गर्नु भएको उक्त प्रस्तावको पक्षमा रहेर सत्तारुढ दलका प्रदेशसभा सदस्यहरुले हुन्छ भनेका थिए भने प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले हुन्न भनेका थिए ।
हुन्छ भन्ने प्रस्तावको पक्षमा बढी प्रदेशसभा सदस्य रहेकाले सभामुख पाठकले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो । बैठकमा प्रदेशसभाका ७ जना सदस्यहरुले सरकारको बजेटमा खर्च कटौतीको प्रस्ताव राखेका थिए । बैठकमा प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठ, प्रेम बहादुर पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिला कुमारी लामा र सृजना सायजुले खर्च कटौतीको प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रदेशसभा सदस्य आशा लामा र कुमारी तामाङले संयुक्तरुपमा दर्ता गर्नुभएको कटौतीको प्रस्ताव प्रदेशसभामा प्रस्तुत हुन सकेन । प्रदेशसभामा प्रस्तुत भएको खर्च कटौतीको प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेश गर्नुभएको थियो । उक्त प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए ।
त्यसअघि प्रदेशसभामा सरकारको बजेट माथि प्रदेशसभा सदस्यहरुले आइतबार र सोमबार बिहान धारणा राखेका थिए भने विभागीय मन्त्रीहरुले बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेसहित मुख्यमन्त्री बहादुर सिंह लामाले बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । बागमती सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको थियो । प्रदेश सरकारको बजेट आइतबार नै पारित गर्ने तयारी गरिएपनि छलफलमा भाग लिने प्रदेशसभा सदस्यको संख्या बढेपछि सोमबारका लागि कार्यसूची सारिएको थियो ।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुभएको बजेट माथि असार १२ गतेदेखि छलफल गर्ने कार्यसूचि तय रहेको थियो । बजेट माथिको विवादका कारण प्रदेशसभा बैठक प्रभावित हुँदा बजेट माथिको छलफल असार २० गतेबाट सुरु भएको थियो । बजेट विवादका कारण पटक–पटक प्रदेशसभा बैठक स्थगित भएपछि दलहरु बीच बजेट माथिको छलफल थाल्न ८ बुँदे सहमतिसहित बजेटको पुरक प्रस्ताव समेत ल्याउनु परेको थियो । पूरक प्रस्ताव प्रदेशसभामा दर्ता भएपछि भने बजेट माथिको छलफल निरन्तर चलाइएको थियो ।










