हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपमहानगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ । उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले शुक्रबार वडाका ४२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्नुभएको हो ।
वडा नम्बर १२ का ६ जनालाई ‘क’ वर्गको रातो कार्ड, २२ जनालाई ‘ख’ वर्गको निलो कार्ड र ७÷७ जनालाई ‘ग’ र ‘घ’ वर्गको पहेलो र सेतो कार्ड वितरण गरिएको हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा अन्तर्गत महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार २ जनाको भने पुनरावलोकनका लागि राखिएको छ । अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलान र वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो । हेटौंडा उपमहानगरपालिकाले यसअघि उपमहानगरको वडा नम्बर २, ३, ६, ७, १० र १८ नम्बरमा अपाङ्गता परिचयपत्र वितरण गरिसकेको छ । शुक्रबार ४२ जनासहित उपमहानगरपालिकाले हालसम्म ३ सय ३४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिसकेको छ ।
कोरोना संक्रमण उपमहानगरमा पनि फैलिन थालेकोले अब अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम अवस्था सामान्य भएपछि मात्र वितरण गरिने हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा अन्तर्गत महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछानेले बताउनुभयो ।