हेटौंडाः राष्ट्रसेवक कर्मचारी मिलन केन्द्र मकवानपुरले सरुवा भएर आउनुभएका बागमती प्रदेशका प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिव एवम् कार्यालय प्रमुखहरुको स्वागत गरेको छ । कर्मचारी मिलन केन्द्रले बागमती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर बिके, बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव डण्डुराज घिमिरे, हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरे र सशस्त्र प्रहरी वल १४ नम्बर गणका प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीलाई स्वागत गरेको हो ।

कर्मचारी मिलन केन्द्र मकवानपुरका अध्यक्ष बद्रिबहादुर पाठक, निवर्तमान अध्यक्ष रामकृष्ण थापा, उपाध्यक्ष दीर्घनारायण कोइराला, उपाध्यक्ष गंगा चौलागाई, बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयका सचिव हरि लम्साल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल, मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख सुशील सिं राठौर, पुरानो गोरख गणका कर्नेल अनिल बुढाथोकी लगायतले एक कार्याक्रमका बीच स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको कर्मचारी मिलन केन्द्र मकवानपुरका निवर्तमान अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।

बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएर आउनुभएका डा. मान बहादुर बिके यसअघि संघीय सरकारको सामान्य प्रशासन मन्त्रालयमा हुनुहुन्थ्यो । सहसचिवबाट सचिव पदमा बढुवा हुनुभएपछिको पहिलो जिम्मेवारीको रुपमा डा. बिकेले बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी पाउनुभएको हो । त्यस्तै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल यसअघि मोरङको प्रमुख जिल्ला अधिकारी रहनुभएको थियो । बागमती प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव डण्डुराज घिमिरे यसअघि संघीय सरकारको पर्यटन मन्त्रालयको पर्यटन विभागबाट आउनुभएको हो । त्यस्तै हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आउनुभएको नमराज घिमिर यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो । सशस्त्र प्रहरी वल १४ नम्बर गणका प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारी प्रहरी उपरीक्षकमा बढुवा भएपछि सरुवा भएर आउनुभएको हो ।

बागमती प्रदेशको प्रमुख सचिव कर्मचारी मिलन केन्द्रको प्रमुख संरक्षक हुने प्रावधान रहेको छ । बागमती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर बिकेले स्वागत कार्यक्रममा बोल्दै बागमती प्रदेशको विकासमा कर्मचारी मिलन केन्द्रले सहयोग गर्नुपर्ने भन्दै सबै एकजुट भएर सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सफल पार्नुपर्ने बताउनुभयो ।