हेटौँडा : त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हेटौँडाका डा. तारालाल श्रेष्ठको पाँचौं कृति ‘साइकल सौन्दर्य’ को गृहजिल्लामा विमोचन गरिएको छ । शनिबार बिहान हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाहलमा विमोचन गरिएको हो । साइकल सौन्दर्य विमोचन समारोहमा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको पनि उपस्थिति रहेको थियो ।
श्रेष्ठको साइकल सौन्दर्यले साइकलको इतिहासदेखि वर्तमानसम्मको अभ्यासलाई प्रस्तुत गरेको छ । गृह विमोचनको अवसरमा साहित्यकार निमेष निखिलले श्रेष्ठसँग संवाद गर्नुभएको थियो । अनौपचारिकरुपमा आयोजना गरिएको गृहविमोचनमा लेखक डा. तारालाल श्रेष्ठले साइकल सौन्दर्यमार्फत नेपालमा साइकलको इतिहास, साइकलकै प्रयोग गरेर जीविका गर्ने स्क्र्याप संकलक, फलफूल व्यवसायी, खाना पुर्याउनेदेखि थेरापीका लागि साइकल चलाउनेसम्मका कथालाई अनुसन्धानमा आधारित भएर प्रस्तुत गरिएको बताउनुभयो । साइकलकै माध्यमबाट पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म, याक अट्याकलगायत साइकल अभियानको विषयलाई पुस्तकमा समावेश गरिएको श्रेष्ठले बताउनुभयो ।
डिसकोर्ष पब्लिकेसनले प्रकाशन गरेको साइकल सौन्दर्य ४ सय पृष्ठको छ । २५ अध्यायमा प्रस्तुत साइकल सौन्दर्य साइकलसम्बन्धी एउटा महत्वपूर्ण दस्तावेजको रुपमा रहने अपेक्षा गरिएको श्रेष्ठ बताउनुहुन्छ । जेठ ३ गते काठमाडौंमा सार्वजनिक गरिएको पुस्तकको गृह विमोचनमा सहभागी भएर साथ, सहयोग गर्नुहुने सम्पूर्णलाई उहाँले आभार व्यक्त गर्नुहुँदै साइकलको इतिहास र जीवनशैलीका बारेमा जान्न बुझ्न साइकल सौन्दर्यले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । श्रेष्ठले साइकललाई आफ्नो प्रमुख यातायातको साधनको रुपमा प्रयोग गर्दै ६ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको बताउनुभयो ।
श्रेष्ठको पहिलो कृति ‘शक्ति, स्रष्टा सबाल्टर्न’, दोस्रो कृति भुटानी शरणार्थीको इतिहासमा आधारित ‘सपनाको समाधि’, तेस्रो कृति दलित समुदायको प्रतिरोधप्रति समर्पित ‘बल्झिरहने अतीत अल्झिरहने वर्तमान’ हो भने चौथो कृति नेपालमा विद्युत विकाससँग सम्बन्धित ‘बन्दिपुरदेखि बन्दिपुरसम्म’ हो ।











