उपाधि विजेता प्रतिभा युवा क्लबको टिम ।

हेटौँडा: मकवानपुरगढी गाउँ खेलकुद विकास समितिको आयोजना भएको महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिका–४ स्थित प्रतिभा युवा क्लबले जितेको छ । शनिबार बिहान मकवानपुरगढी गाउँपालिका–७ स्थित गीताधर्म आधारभूत विद्यालयको भलिबल कोर्टमा भएको फाइनल खेलमा वडा नम्बर ५ लाई हराउँदै प्रतिभा युवा क्लब विजयी भएको हो ।

क्लबले वडा नम्बर ५ लाई ३–१ को सेटमा पराजित गरेको थियो । पहिलो सेट युवा क्लबले २५–१० ले जितेको थियो भने दोस्रो सेट वडा नम्बर ५ ले २६–२४ ले जितेको थियो । यस्तै तेस्रो र चौथो सेट २५–२३ र २५–१७ ले प्रतिभा युवा क्लबले जितेको थियो । शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका प्रमुख दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा भएको थियो । प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा गढी गाउँपालिकाका ८ वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगितामा सेमिफाइनलमा प्रतिभा युवा क्लबले मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माविलाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने मकवानपुरगढी–७ स्थित जनता माविलाई हराउँदै वडा नम्बर ५ फाइनल प्रवेश गरेको थियो । मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनको प्रमुख आतिथ्य तथा मकवानपुरगढी खेलकुद विकास समितिका अध्यक्ष हीरा बहादुर स्याङ्तानको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । समापन कार्यक्रममा वडाअध्यक्षहरुको पनि आतिथ्य रहेको थियो ।