हेटौँडा : मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा ८ ‘ए’ साइड फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । आज आइतबारबाट मकवानपुरगढी गाउँपालिका–२, कुर्लेदमारस्थित खेलमैदानमा सहिद रुद्र पाख्रिन र बासुदेव घिमिरेको स्मृतिमा तेस्रो संस्करणको ८ ‘ए’ साइड फुटबल प्रतियोगिता हुन लागेको प्रतियोगिताका सह–प्रायोजक दाजुभाइ एफसीका सदस्य अजय लामाले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले गर्नु हुनेछ । उद्घाटन खेल दाजुभाइ एफसी र घले समाज ठिंगनबीच हुनेछ । यस्तै दोस्रो खेल नागस्वति फुटबल एकेडेमी र सिमलटार युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोग तथा दाजुभाइ एफसीको सह–आयोजनामा प्रतियोगिता आयोजना गरिएको सहसंयोजक अजय लामाले जानकारी दिनुभयो । फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ७५ हजार र उपविजेताले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।