हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७\०७८ मा युवा तथा खेलकुदमा १२ वटा योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गरेको छ । गाउँपालिकाले खेलमैदान निर्माण, खेलकुद सामग्री खरिद लगायतका युवालाई रोजगारी सृजना हुने र युवाको क्षमता विकासको कार्यक्रमहरु राखिएको गाउँपालिकाका अध्यक्ष टंक बहादुर मुक्तानले जानकारी दिनुभयो ।

अध्यक्ष मुक्तानले कोरोनाको कहर कायमै रहेको र कहिले अन्त्य हुने टुङो नलागेकाले खेलकुदतर्फ पूर्वाधार विकासको कार्यक्रम बढि राखिएको बताउनुभयो । उहाँले गाउँपालिकाको १० वटा वडा मध्ये वडा नम्बर ४, ६, ८ र १० खेलमैदान निर्माण भैसकेको बताउनुभयो । अन्य वडाहरुको विभिन्न ठाउँमा खेलमैदान निर्माणका लागि चालु वर्षमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । गाउपालिकाले स्थानीय तहस्तरीय राष्ट्रिय रनिङ सिल्ड प्रतियोगिताका लागि १ लाख बजेट विनियोजन गरेको छ । युवा उद्यम कार्यक्रमका लागि ५ लाख, युवा क्लब गठन तथा नमूना युवा संसद अभ्यास कार्यक्रमका लागि १ लाख, युवा प्रतिभा पहिचान र प्रोत्साहन कार्यक्रमका लागि ५० हजार, सामाजिक जागरण, रुपान्तरण र समृद्धिका लागि युवा परिचालन कार्यक्रमका लागि २ लाख र युवा परामर्श कार्यक्रमका लागि १ लाख ५० हजार विनियोजन गरिएको कैलाश गाउँपालिका कार्यालयले जानकारी दिएको छ ।

गाउँपालिकाले वडा नम्बर ५ को चौकीटार प्रकृति माविको खेलमैदान निर्माणका लागि १० लाख, कैलाश–१ खेलमैदानका लागि ७५ हजार, कमला मावि खेल मैदानका लागि १ लाख ५० हजार, वडा नम्बर २ का आईबुङ भलिबल खेल मैदानका लागि, आमडाँडा खेलमैदाखनका लागि १ लाख २५ हजार विनियोजन भएको छ । लोखर्के खोला मैदान विस्तारका लागि ५० हजार, कोथलिटार खेल मैदानका लागि ५० हजार र घैराङ विचटोल खेलमैदानका लागि ७५ हजार विनियोजन भएको छ । गाउँँपालिकाले खेलकुद सामग्री खरिदका लागि २ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।