सार्वजनिक पद धारण गरेका व्यक्ति र संस्थाप्रति नागरिकले गरेको विश्वास अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीका आधारमा मुल्यांकन गर्न सकिन्छ । पछिल्ला वर्षहरुमा स्थानीय तहले गर्ने काम कारवाही प्रति बढी उजुरी पर्ने गरेको देखिन्छ । स्थानीय तहबाट हुने निर्णय र कामकारवाही प्रति नागरिकको असन्तोष देशव्यापी समस्या हो । आफुले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरु प्रतिको अविश्वास वा जनप्रतिनिधि नागरिकप्रति गैरजिम्मेवार बनेका हुन भन्ने निक्र्योल गर्न विशेष अनुसन्धान हुनु पर्दछ । आफ्ना क्षेत्रमा हुने विकास निर्माणमा स्थानीय नागरिकले विशेष चासो लिनु स्वभाविक हो । त्यसैले त्यहाँ हुने कमजोरीलाई जनप्रतिनिधिले नसच्याउँदा अख्तियारसम्म उजुरी पुग्ने गर्दछ ।
सार्वजनिक निकाय र व्यक्तिहरुबाट हुने काम बिरुद्ध उजुरी गर्नु उनीहरुलाई थप जिम्मेवार बनाउनु हो । कामकारवाही प्रति नागरिको गम्भीर चासोका रुपमा पनि उजुरीलाई लिन सकिन्छ । जनहितमा गरिनु पर्ने काम र निर्णय अन्यथा भएमा सचेत नागरिकले असहमति जनाउन सक्छन् । सम्बन्धित निकायबाट यस्ता विषयमा जवाफदेहीता नदेखाउँदा अख्तियारसम्म उजुरी आई पुग्दछन् । जनहित विपरित भएका निर्णय र काम बिरुद्ध उजुरी स्वभाविक हुन्छ । तर कहिले कहीँ दुख दिने नियतले पनि यस्तो कार्य हुन सक्छन् । फर्जी उजुरीले आयोगको काम समेत प्रभावित हुन सक्छ । झुठा वा बदनियतपूवर्क उजुरी दिनेहरुलाई पनि सजायको व्यवस्था हुनु पर्दछ । ता कि प्रतिशोधका लागि मात्र उजुरी दिने पद्दतिको विकास नहोस् ।
अख्तियार दुरुपायोग अनुसन्धान कार्यालय हेटौंडामा गत वर्ष कार्यक्षेत्र भित्रका विभिन्न मन्त्रालय अन्तर्गतका कार्यालय विरुद्ध एक हजार भन्दा बढी उजुरी परेका छन् । जसमध्ये सात सय आठ वटा उजुरीको फछ्र्यौट भएको देखिन्छ । उजुरीको फछ्र्यौटले सम्बन्धित कार्यालयहरुलाई अन्य काममा कारवाहीमा सहजीकरण पनि गर्ने सक्छ । यसै क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले आएका उजुरी माथिको अनुसन्धान, जाँच गरी टुंगोमा पुर्याउने कामलाई सक्रियता दिएको देखिन्छ । बाँकी रहेका उजुरीले पनि छिटै निकास पाउनु आवश्यक हुन्छ । गत वर्षका चार सय १८ वटा उजुरी भने फछ्र्यौट हुन सकेको अवस्था छैन भने चालु आर्थिक वर्षमा अरु थपिन सक्छन् । त्यसो गर्दा चालु वर्षका लागि यस्ता उजुरीहरुको संख्या बढ्ने अवस्था छ ।
मकवानपुर जिल्ला भित्रका कार्यालय वा मन्त्रालय वा यहाँ काम गरेका निकाय विरुद्ध पनि ठुलो संख्यमा उजुरी देखिन्छन् । जिल्ला भित्रैबाट दुई सय ३५ वटा उजुरी दर्ता भएका छन् । जस मध्ये एक सय ३४ उजुरी फछ्र्यौट भएको छ भने एक सय एक वटा उजुरी प्रक्रियामा रहेको पाईएको छ । सार्वजनिक निकाय र व्यक्तिले गरेका काम प्रति सकेसम्म कसैको औँला उठ्ने अवस्था आउन हुँदैन । मानवीय चरित्र अनुसार सबैको चित्त बुझ्न सक्दैन । त्यसैले उजुरी पर्ने गर्दछन् । अख्तियारमा उजुरी पर्नु भनेको अनियमित भएकै हो भन्ने हैन । त्यस सम्बन्धमा के भएको भन्ने कुराको अनुसन्धान अख्तियार कार्यालयले गर्ने छ । जहाँ कमजोरी भएको छ त्यहाँ कारवाही हुनै पर्दछ । तसर्थ अख्तियारमा उजुरी पर्यो वा परेन भन्दा पनि गरिएका निर्णय र काम जनहितमा छ वा छैन र पारदर्शी छ वा छैन भन्ने मुख्य प्रश्न हो ।