हेटौँडा : कान्तिलोकपथअन्तर्गत मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती नदीमा बेलिब्रिज जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । गत १२ असोजमा आएको बाढीले मकवानपुरतर्फको भाग बगाएपछि उक्त सडक खण्ड भएर चलने सवारी साधनहरुले समस्या झेल्दै आएका थिए ।
बाढीले बागमती खोलामाथिको पुलको मकवानपुरतर्फ १५ मिटर पहुँचमार्ग बगाएपछि डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिँदै आएकोमा जेठ २१ गतेदेखि बेलिब्रिज जडान कार्य चलिरहेको हो । आइतबारबाट गाडी चलाउन मिल्नेगरी काम भइरहेको कान्ति लोकपथका योजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिनुभएको छ ।
बागमती खोलामा आउने बाढीले पटक–पटक डाइभर्सन र त्यसमा प्रयोग भएको ह्युमपाइप बगाउँदा केही दिनदेखि सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । प्रमुख बज्राचार्यका अनुसार कान्तिलोकपथ सडक आयोजनाले २१ जेठदेखि २४ गतेसम्म ४ दिन कान्तिलोकपथ भएर चल्ने सवारी साधन पूर्णरुपमा बन्द गरेर बेलिब्रिज जडान कार्य गरिरहेको हो ।
उहाँका अनुसार मकवानपुरतर्फ २४ मिटर लामो बेलिब्रिज जडान कार्य भइरहेको छ । बेलिब्रिज जडान र मकवानपुर र ललितपुरतर्फको पुलसम्मको पहुँचमार्गमा फाउन्डेशन लगाउने कार्यका लागि २ करोड बजेट विनियोजन गरेकोमा करिब एक करोड ४५ लाख रुपैयाँमा काम सम्पन्न हुने योजना प्रमुख बज्राचार्यले बताउनुभएको छ ।











