खानेपानी योजना सम्झौतापछि सम्झौतापत्र आदानप्रदान गरिँदै ।

हेटौँडा : हेटौँडामा २० करोड लागतमा खानेपानी आयोजना निर्माण हुने भएको छ । खानेपानीको दिर्घकालिन व्यवस्थापनका लागि हेटौँडामा संघीय सरकारको सहलगानीमा सो आयोजना संचालन हुने भएको हो ।

हेटौँडा उपमहानगरपालिका र संघीय सरकारको सहलगानीमा २० करोड रुपैयाँ भन्दा बढीको खानेपानी योजना निर्माण हुनेछ । हेटौँडा उपमहानगरापलिका–९, १४ र १५ क्षेत्रमा उक्त आयोजना संचालन हुनेछ । सो क्षेत्रमा लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना अन्तर्गत ठुलो लगानीको काम हुने भएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । शुक्रबार हेटांँडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्ष बीच त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । हेटौँडा उपमहानगरपालिकामातहतको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले तयार पारेको ८२ करोडको वातावरणीय प्रभाव मूल्यांकन अन्तर्गत रहेर नेपाल सरकारले उक्त कार्यक्रम अघि बढाएको हो ।

हेटौँडाका ९, १४ र १५ लाई लक्षित गरेर आव्हान गरिएको ठेक्का अनुसार निर्माण पक्षले २० करोड ५६ लाख रुपैयाँमा २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको गरेको हो । हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा शुक्रबार भएको सम्झौता पत्रमा नगर प्रमुख मीनाकुमारी लामा, संघीय खानेपानी योजना प्रमुख पूर्णप्रसाद उपाध्याय, हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्ट र निर्माण पक्षबाट जयमाता सुप्रीम जेभीका कृष्णहरी चौलागाईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उपमहानगरपालिकाको ३० प्रतिशत र संघीय योजनाको ७० प्रतिशत लगानी रहने छ ।

२० करोड ५६ लाखको लगानीमा हेटौँडा–९ को बेतखोल्सीमा ६ लाख लिटर, हेटौँडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौँडा–१४ मा २ लाख लिटरको खानेपानी ट्याङ्की निर्माण गरीने छ भने हेटौँडा–१४ मा २ वटा समवेल बनाउने सम्झौतामा उल्लेख छ । योजना अनुसार हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानीलाई ३ करोड रुपैयाँ खर्चेर यहि योजनामा समावेस गर्ने बताइएको छ । योजना सम्झौतामा नगर प्रमुख लामाले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै नगरवासीलाई चाँडै खानेपानीको व्यवस्थापन मिलाउने काममा लाग्न निर्माण पक्षलाई आग्रह गर्नुभयो । योजना निर्माण हुने क्षेत्र मध्य दुई वटा वडा १४ र १५ पछि उपमहानगरापालिकामा समावेश भएको क्षेत्र भएकाले त्यहाँका जनतालाई खानेपानीको सुविधा दिने काममा उपमहानगर पछि नपर्ने गरी काममा लाग्न उहाँले निर्देशन दिनुभयो ।

सम्झौतामा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाको पनि उपस्थिति रहेको थियो ।