बालश्रम दुरुपयोग भए नभएको अनुगमन गर्दै अनुगमन टोली ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको स्थानीय बालअधिकार समितिमातहतको बालबालिका उद्दार तथा पुनस्र्थापना उपसमितिले हेटौँडा बजार क्षेत्रको अनुगमन गरेर श्रममा रहेका बालबालिकाको उद्दार गरेको छ । मंगलबारदेखि बिहीबारसम्म गरिएको अनुगमनको क्रममा श्रममा संलग्न रहेको अवस्थामा १० जना बालकलाई उद्दार गरिएको छ ।

मंगलबार हेटौँडा–१० बाट २ जना, बुधबार हेटौँडा–११ बाट ५ र हेटौँडा–४ बाट १ जना बालकको उद्दार गरिएको थियो भने बिहीबार हेटौँडा–४ बाट २ जना बालकको उद्दार गरिएको हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशी महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभएको छ । मंगलबार उद्दार गरिएका २ जना बालक १७ वर्षको रहेको र एकजना पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–४ का हुन् भने अर्का बालक भारतको बिहार राज्य अन्तर्गत पूर्वीचम्पारनका हुन् ।

बुधबार हेटौँडा–११ बाट ५ जना र हेटौँडा–४ बाट १ जना बालश्रमिकलाई उद्दार गरिएको छ । हेटौँडा–११ बाट १६ वर्षीय बालक ३ जना, १४ र १७ वर्षका एक एकजना बालका उद्दार गरिएका छन् । उद्दार गरिएका बालकहरुमध्ये १४ वर्षीय र १६ वर्षीय दुई जना बालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२३ का छन् । यस्तै १७ वर्षीय एक बालक पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका–३ का, १६ वर्षीय १ बालक पर्सा जिल्लाको धाबिनी गाउँपालिका–४ का र १ जना १६ वर्षीय मकवानपुरको कैलाश गाउँपालिकाका छन् । यस्ते हेटौँडा–४ बाट उद्दार गरिएका १६ वर्षीय बालक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका छन् ।

लामिछानेका अनुसार बालमैत्री घोषणा भइसकेको हेटौँडा उपमहानगरपालिकाले घोषणापछिको जिम्मेवारीको रुपमा बालश्रम प्रयोग भए नभएको विषयमा अनुगमन गरिरहेको छ । जनप्रतिनिधि, स्थानीय प्रशासन, श्रम कार्यालय, प्रहरी, बाल हेल्पलाइनका प्रतिनिधिको सहभागितामा अनुगमन गरी बालश्रम दुरुपयोग भएको पाइए श्रममा रहेका बालबालिकाको उद्दार गर्नुका साथै बालश्रम दुरुपयोग गर्ने रोजगारदातालाई जरिवाना समेत गर्ने गरिएको छ । बालश्रम दुरुपयोग गर्ने रोजगारदातालाई २५ हजार रुपैयाँ जरिवाना गरिने र श्रम गरेवापत बालबालिकाको पारिश्रमिक भराउने व्यवस्था गरिएको लामिछानेको भनाइ छ । उद्दार गरिएका बालबालिकालाई सिविन बाल हेल्पलाइनमा राखी परिवारमा पुनस्र्थापना गर्ने गरिएको छ ।