प्रभातफेरीमा सहभागी अतिथिहरु ।

हेटौँडा : ५३औं विश्व वातावरण दिवसको अवसरमा हेटौँडामा वृहत् प्रभातफेरीसहित विविध प्रतियोगिता तथा कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमको समापनसँगै बिहीबार बिहान हेटौँडामा वृहत् प्रभातफेरीको आयोजना गरिएको थियो । टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाको आयोजनामा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक प्रभातफेरीसँगै विविध कार्यक्रम आयोजना गरिएको थियो ।

‘प्लाष्टिकमुक्त हेटौँडा, हरियालीयुक्त नगर’ भन्ने मूल नाराका साथ आयोजित प्रभातफेरीमा टोल विकास संस्था, विद्यालय, विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षता तथा वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यमा विश्व वातावरण दिवस समारोह आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको पनि आतिथ्य रहेको थियो ।

प्रभातफेरीतर्फ कालिकामाई टोल विकास संस्था प्रथम, मनकामना ‘ख’ टोल विकास संस्था द्वितीय, विकास टोल विकास संस्था तृतीय, सिमलटार टोल विकास संस्था र तपोवन टोल विकास संस्था सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टोल विकास संस्थाले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५/५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रभातफेरीमा सिद्धार्थ माध्यमिक विद्यालय प्रथम, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय द्वितीय, लक्ष्मी आधारभूत विद्यालय तृतीय, भुटनदेवी र ज्ञानदा मावि सान्त्वना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरुले क्रमशः १५ हजार, १० हजार, ७ हजार ५ सय र ५/५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै हेटौँडाको सुन्दर वातावरण विषयमा आयोजित चित्रकला प्रतियोगितामा जिएस निकेतनकी आरोही राउत प्रथम, तासिर स्कूलकी दियाना उप्रेती द्वितीय, ब्रह्मदिक् एकेडेमीका प्रवेश श्रेष्ठ तृतीय, जिएस निकेतनकी समृद्धि जोशी, बालज्योति माविका राघव राई र सिद्धार्थ माविका महेन्द्र मगर सान्त्वना भएका छन् ।

‘यदि म मेयर भए हेटौँडालाई कसरी सफा र प्लास्टिकरहित बनाउथेँ’ विषयक भिडियो प्रतियोगितामा नवोदय शिशु सदनका इतिश अधिकारी प्रथम, जिएस निकेतनकी आकांक्षा निरौला द्वितीय, आशि बानियाँ तृतीय, आधुनिक मावि, बालजागृति बोर्डिङ स्कुल, भुटनदेवी मावि सान्त्वना भएका छन् । पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोगसम्बन्धी प्रतियोगितामा नवोदय शिशु सदन प्रथम, आधुनिक राष्ट्रिय मावि द्वितीय, भुटनदेवी मावि तृतीय, तुलसी मेहर ममोरियल स्कूल, प्रगति मावि र सिद्धार्थ मावि सान्त्वना भएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र २/२ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

विश्व वातावरण दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री सिलवालले वातावरण संरक्षणको महत्वलाई स्मरण गराउनुहुँदै प्लाष्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गरेका नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले जनस्तरसम्म चेतना फैलाउने र सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख मिना कुमारी लामाले हेटौँडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउनेतर्फ नगरपालिकाको प्रतिबद्धता दोहोर्‍याउनु भयो । उहाँले वातावरण संरक्षणको अभियानमा समुदाय, विद्यालय र युवा पुस्ताको सक्रियता प्रशंसायोग्य भएको बताउनुहुँदै नगरपालिकाले आवश्यक बजेट र नीति सहयोग पुर्‍याउने वचन दिनुभयो । सभाध्यक्ष ध्रुवप्रसाद अधिकारीले टोल विकास संस्था, युवा, महिला समूह, विद्यालय, सामाजिक संघ, संस्था र सरोकारवालाहरूको सहकार्यबाट हेटौँडालाई २०८२ सालभित्रै प्लाष्टिकमुक्त बनाउने लक्ष्यमा पुग्न सकिने बताउँदै सबैलाई निरन्तर सहभागिताका लागि आग्रह गर्नुभयो ।