हेटौँडा : दोस्रो संस्करणको जितपुर सिमारा क्रिकेट कप शनिबारबाट सुरु हुने भएको छ । प्रतियोगितामा मकवानपुरले पनि सहभागिता जनाउने मकवानपुर क्रिकेट संघका सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभयो ।
प्रतियोगिता जितपुर स्पोट्र्स क्लबको आयोजना, जितपुर महानगरपालिकाको सहयोग र मधेश प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको हो । प्रतियोगितामा मकवानपुरसहित ६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा मकवानपुर समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा मकवानपुर बारा र पर्सा रहेका छन् भने समूह ‘ए’ मा जितपुर, गरुडा नगरपालिका र युनाइटेड क्रिकेट क्लब रहेका छन् । मकवानपुरले पहिलो खेल आइतबार र दोस्रो खेल मंगलबार खेल्नेछ । दुवै समूहको शीर्ष रहने टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल जेठ ३१ गते शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ५५ हजार र उपविजेताले ३५ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करण मकवानपुरले जितेको थियो । मकवानपुरबाट १६ जनाको टिम प्रतियोगिताका लागि सहभागी हुन जानेछन् । उद्घाटन खेल जितपुर सिमरा र गरुडा नगरपालिकाबीच शनिबार बिहान ११ बजे हुनेछ । यस्तै सोमबार जितपुर सिमरा र युनाइटेड क्रिकेट क्लब बीच प्रतिस्पर्धा हुनेछ ।











