कृषकलाई कृषि औजार हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडा : स्थानीय रैथाने बीउको संरक्षण र यान्त्रीकरणमार्फत कृषिमा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले हेटौँडा उपमहानगरपालिकाले पालिका भित्रका धान पकेट क्षेत्रमा किसानहरूलाई कृषि उपकरण वितरण गरेको छ । बागमती प्रदेश सरकारको सहकार्यमा हेटौँडा–१७, हटियामा रहेको साना किसान कृषि सहकारी संस्थामार्फत उपमहानगरपालिकाले उपकरण वितरण गरेको हो ।

बुधबार नगर प्रमुख मीनकुमारी लामाको उपस्थितिमा १३ लाख रुपैयाँको लागतमा खरिद गरिएका विभिन्न प्रकारका उपकरणहरू किसानहरूलाई अनुदानमा प्रदान गरिएको छ । वितरण गरिएका सामग्रीमा १५५ वटा इलेक्ट्रिक स्प्रे, १६० वटा त्रिपाल, ६ वटा हाते ट्रयाक्टर, ५ वटा कम्बाइन राइस मिल, १० वटा पानी तान्ने मोटर र २ वटा डिजिटल तराजु समावेश छन् ।

उक्त अवसरमा नगर प्रमुख लामाले उपमहानगरले कृषिमा यान्त्रीकरणसहित उत्पादनसँग जोडिएका कार्यक्रमहरू अघि बढाएको बताउनुभयो । ‘हामी नगरका विभिन्न क्षेत्रलाई पकेट क्षेत्रको रूपमा विकास गर्दैछौं । ती क्षेत्रमा क्रियाशील कृषकहरुलाई सहयोग पु¥याउने उद्देश्यले हामीले कृषिमा यान्त्रीकरणसहित उत्पादनसँग जोडिएका कार्यक्रमहरू अगाडि बढाउँदै छौं,’ नगरप्रमुख लामाले भन्नुभयो, ‘हेटौँडाबाट धेरै कृषि उपज अहिले देशका अन्य स्थानमा बिक्रीका लागि जाने गरेको छ । यसमा हाम्रो सहयोगले थप टेवा पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।’

धान पकेट कार्यक्रम चालु आर्थिक वर्ष र आगामी वर्ष २०८२/८३ सम्म सञ्चालन हुने प्रमुख लामाले जानकारी दिनुभयो । त्यसका लागि उक्त कार्यक्रम अन्तर्गत किसानहरूलाई धान खेतीसम्बन्धी दुई वटा तालिम प्रदान गरिसकिएको छ भने रैथाने धानको बीउ समेत वितरण गरिएको छ । साना किसान सहकारीका अनुसार हालसम्म ४ टन ‘मकवानपुरे छोटे’ र ३ टन ‘रामधान’ जातको बीउ वितरण गरिएको हो ।

कार्यक्रममा वडा नम्बर १७ का अध्यक्ष उद्धव सत्याल, वडा सदस्य नवराज न्यौपाने, उपमहानगर आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, कृषि शाखा प्रमुख प्रदीप रेग्मी लगायतले नगरभित्र कृषि योग्य जमिनलाई मासेर बढिरहेको जग्गा प्लटिङ गर्ने प्रवृतिलाई पनि यसले निरुत्साहित गर्ने विश्वास व्यक्त गरे । हेटौँडा उपमाहानगरपालिकाले वडा नम्बर १७ को चुच्चेखोलादेखि महादेवखोलासम्मको क्षेत्रलाई धान पकेट क्षेत्रको रूपमा अगाडि बढाउने योजना बनाएर काम थालेको छ ।