हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् । प्रदेशको मकवानपुर, चितवन, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लामा सोमबार र मंगलबार भएका सवारी दुर्घटनामा १३ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका र थाहा नगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एकैदिन ७ जना घाइते भएका छन् । सोमबार दिउँसो २ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८, सिमपानीमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५५ प ५३०६ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा सोहि दिशाबाट जाँदै गरेको बा प्र ०६–००२ प ४६२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा ५३०६ नम्बरका चालक सिमपानीका २४ वर्षीय गौरब कार्की, पछाडि सवार १९ वर्षीय साहिल रिजाल सामान्य घाइते भएका छन् । यस्तै ४६२२ नम्बरको मोटरसाइकल चालक चितवन जिल्लाको खैरहनी नगरपालिका–१०, कठारका ३१ वर्षीया सरिता चौधरी मध्यम घाइते भएका थिए । घाइते तीनै जनालई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो । सामान्य उपचार पश्चात थप उपचारका लागि सरितालाई चितवनस्थित मेडिकल कलेज लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६, आर्मी व्यारेक अगाडि चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एनएल ०१ एबी ९२३८ नम्बरको ग्यास बुलेटले सोहि दिशातर्फ आउँदै गरेको बा प्र ०२–०५५ प ९६७१ नम्बरको मोटराइकललाई ठक्कर दिएको थियो । बुलेटको ठक्करबाट मोटरसाइकल चालक चितवन जिल्लाको राप्ति नगरपालिका–२, गड्यौलीका ३५ वर्षीय प्रविन अधिकारी र पछाडि सवार ४० वर्षीय राम पाठक घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुवै जनाको मनहरी अस्पतालमा उपचार भइरहेको छ । ग्यास बुलेट चालक भारतको बिहार राज्यका ५२ वर्षीय मोहम्मद हुसेन इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै, थाहा नगरपालिका–४, नयाँगाउँमा योद्धा बोलेरो र स्कुटर एक आपसमा ठोकिँदा २ जना घाइते भएका छन् । सोमबार दिउँसो ३ बजेको समयमा त्रिभुवन राजपथमा हेटौँडाबाट पालुङतर्फ जाँदै गरेको प्र ०३–०१–०२४ च ९८९६ नम्बरको योद्धा बोलेरो र विपरित दिशाबाट जाँदै गरेको बा ५२ प ४७२२ नम्बरको स्कुटर एक आपसमा ठोकिँदा स्कुटरमा सवार २ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक सिन्धुली कमलामाई नगरपालिका–६, रानिपुरियाकी ३० वर्षीया बिमला गुरुङ र पछाडी सवार थाहा नगरपालिका–७, डाँडाबासकी २७ वर्षीया सुस्मिता गोले घाइते भएका थिए । घाइते दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ । बोलेरो चालक चितवन जिल्लाको राप्ती नगरपालिका–४, बस्ने २१ वर्षीय विकास परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका–४, देबैलीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मंगलबार बिहान २ बजेर ३० मिनेटको समयमा भित्री सडक खण्डमा सौराहाबाट टाँडीतर्फ आउँदै गरेको बा प्र ०३–००३ प ३२५७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक चितवनको कालिका नगरपालिका–८ बस्ने ३१ वर्षीय आयुष घले र पछाडि सवार १९ वर्षीया मनिषा प्रजा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते दुवै जनाको अवस्था सामान्य रहेको र उपचारका लागि चितववनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२, आँपटारीमा अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् । मंगलबार बिहान ४ बजेर २० मिनेटको समयमा भित्री सडक खण्डमा ना २ ह ४७३ नम्बरको अटो देवकोटा चोकबाट बाइपास हाइवेतर्फ निस्कने क्रममा आफैं अनियन्त्रित भई खानेपानीको धारामा ठोकिँदा चालक मोरङ जिल्ला घर भई हाल भरतपुर महानगरपालिका–११, गणेशस्थान बस्ने ३६ वर्षीय शंकर सुब्बा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते सुब्बाको चितवनस्थित भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–७, नारायणथान मन्दिरमा कारको ठक्करबाट एक बालिका घाइते भएकी छन् । सोमबार बिहान ९ बजेर ३० मिनेटको समयमा बा प्र ०१–०२८ च १०२२ नम्बरको कार व्याक गर्ने क्रममा ७ वर्षीया कृष्णा श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । घाइते बालिकालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिका–६, सोह्र किलोमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । सोमबार बिहान ९ बजेर २० मिनेटको समयमा अरनिको राजमार्गमा दोलखाबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ३७६ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट अइरहेको बा ८७ प.६७९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक दोलखा जिल्लाको बिगु गाउँपालिका–४ का २१ वर्षीय मनोज सार्की र २७ वर्षीय पासाङ तामाङ घाइते भएको प्रहरीले जानकारी दिएको छ । दाहिने खुट्टा र दाहिने हातमा चोट लागेका दुबै घाईतेको अवस्था मध्यम बोल्न सक्ने रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर लगिएको छ । ट्याङ्कर चालक काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ का २५ वर्षीय दिनेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।