हेटौँडा : बागमती प्रदेशसभाबाट २ वटा विधेयक पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले संसदीय समितिबाट प्रतिवेदन सहित प्राप्त भएको २ वटा विधेयक पारित गरेको हो ।
शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट छलफल पछि तयार भएको प्रतिवेदनसहित प्रदेशसभाको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले संसदमा पेश गरेको कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको समितिको प्रतिवेदनसहित सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका गर्नुभएको थियो । उहाँले पेश गरेको प्रस्ताव माथि प्रदेश सांसद रत्नप्रसाद ढकालले प्रश्न गर्नुभएको थियो । प्रदेश सरकारले ऐन निर्माण गरेपनि कार्यान्वयन हुन नसकेको भन्दै उहाँले प्रश्न गर्नुभएको थियो । उहाँले कृषकहरुको समस्या, मल बिउको सहज उपलब्धतालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले विधेयकले कृषि क्षेत्रको विकास, कृषकको समस्या, उत्पादन र उत्पादकत्वका विषयहरु समेटेको बताउनुभयो । रसायनिक मलको व्यवस्थापन, प्राङ्गारिक मल उत्पादन, बिउ पूँजि वितरणका योजनाहरुको प्रभावकारीक कार्यान्वयन गर्नेगरी विधेयक ल्याएको उहाँले बताउनुभयो । उहाँले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव समेत गर्नुभएको थियो ।
सो पश्चात सभामुख भुवनकुमार पाठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई निर्णायार्थ पेश गर्नुभएको थियो । सभामुख पाठकले निर्णयार्थ पेश गरेको सो विधेयकलाई बैठकले सर्वसम्मत रुपमा पारित गरिएको हो ।
बैकठमा स्वास्थ्य मन्त्री किरण थापाले संसदमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक समितिको प्रतिवेदन सहितको प्रस्ताव छलफलका लागि पेश गर्नुभएको थियो । उहाँले पेश गरेको सो प्रस्ताव माथि सुरेन्द्रराज गोर्साई, रत्नप्रसाद ढकालले प्रश्न गर्नुभएको थियो । उहाँहरुले नागरिकको स्वास्थ्य सुविधाको अधिकार सुनिश्चिता तथा सुलभ उपलब्धताका लागि प्रभावकारी ढंगले कार्यानवयनमा अघि बढ्नुपर्ने बताउँनु भएको थियो । उहाँहरुले स्वास्थ्य क्षेत्रको विवादलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
उहाँहरुले उठाएको प्रश्न माथि जवाफ दिँदै मन्त्री थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन कार्यान्वयन पश्चात प्रदेशको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउने बताउनुभयो । प्रदेशमा नै चिकित्सा शिक्षाको तर्फका विभिन्न विधामा अध्ययापन गरेर नागरिकको सेवा खटाउने गरी सरकार अघि बढेको उहाँले बताउनुभयो । सो लगत्तै उहाँले उक्त विधेयकलाई पारित परियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
मन्त्री थापाले पेश गरेको उक्त प्रस्तावलाई सभामुख पाठकले निर्णायार्थ पेश गर्नुभएको थियो । सभामुख पाठकले पेश गरेको उक्त प्रस्तावलाई प्रदेशसभा बैठकले सवर््सम्मत पारित गरेको हो ।
प्रदेशसभाबाट पारित भएको उक्त विधेयकहरुलाई प्रमाणिकरणका लागि प्रदेश प्रमुख समक्ष पेश गरिने छ भने प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा जानेछ ।
बैठकले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन गर्न बनेको विधेयकलाई समितिमा दफावार छलफलका लागि पठाएको छ । प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पेश गरेको दफावार छलफलका लागि समितिमा पठाइयोस भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरिएको हो ।
उक्त विवादीत विधेयक प्रदेश प्रमुख कार्यालयबाट फिता भएको थियो । सो विधृेयक माथि सत्तारुढ दल नै दुई धुव्रमा विभाजित छन् । विवादीत उक्त विधेयकका कमीकमजोरी सुधार गर्नेगरी समितिमा छलफल हुने मन्त्री लामिछानेले बताउनुभयो ।










