गणतान्त्रिक सरकारका सरकारहरुले सर्वसाधारण नेपाली जनतालाई गणतन्त्रको अनुभुति गराउनै सकेन । सुशासन कायम गर्न नसक्नु र भ्रष्टाचारलाई मलजल गरेकै कारण गणतन्त्र प्रति वितृष्णा जागेको हो । राजाको शासन पनि हेरेकै हो । २१औं शताब्दीमा राजालाई खोपामा राखेर सुशासन आउँछ भन्ने कल्पना गर्नेहरु पनि भ्रममा छन् । गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना गर्नु मिथ्या सपना मात्र हो । अब सबै चेतनशील नागरिकहरुले पार्टीहरुको निहितस्वार्थ भन्दा माथि उठेर भ्रष्टाचार प्रति निर्मम भएर सुशासनका लागि यी पुराना असन्तुलित मानसिकता भएका नेताहरूलाई हटाउनै पर्छ । आफ्नै नेताप्रति पनि आवश्यक परे निर्मम भएर कारबाही गर्नुपर्छ । अहिले राजावादीहरुले सुशासनको कल्पना गरेका राजाहरुको इतिहास पनि जनताले देखी, भोगी आएकै हो ।
राजा र नेताहरुको धङधङीमा अलमलिरहने हो भने नेपाल र नेपाली जनताको अस्तित्व धरापमा पर्ने निश्चित छ । यो अवस्थाबाट आत्तिएर धेरै व्यक्तिहरु अब के गर्ने ? सत्तामा बसेकाहरुले आफैँले गरेको भ्रष्टाचार र अनैतिक कामको खोजी नीति किन गर्छ ? भनेर प्रश्न तेस्र्याएर निराश भएका छन् । हामी सबै स्वाभिमानी आत्मसम्मान भएको देशप्रेमी नेपाली जनतालाई यो देशको माया छ । त्यसैले आआफ्नो ठाउँबाट निरन्तर आवाज उठाउनु पर्छ । गणतन्त्रलाई दुहुनो गाई बनाएर लुटिरहने र राजतन्त्रको भ्रममा परेकालाई यो एक्काइसौं शताब्दीमा पनि इतिहासको गर्तमा जनताले मिल्काइसकेको राजतन्त्रको बीउ जोगाएर देशमा सुशासन हुन्छ भन्ने भ्रम चिर्नु पर्छ ।
१) सबै पार्टीहरुका देशप्रेमी नेताहरू, कार्यकर्ताहरु पार्टीको घेरा भन्दा माथि उठेर आफ्नै दलका भ्रष्ट नेता तथा कार्यकर्ता माथि लागेको अभियोगलाई छानबिन गराउन डराउन हुन्न ।
२) अहिलेसम्म भएका सबै काण्डहरुको छानविनका लागि दृढ़ बनौं । चारैतिरबाट दबाब दिउँ ।
३) विरोधी दलहरूले उठाएका राम्रा कामप्रति सकारात्मक हुने संस्कारको विकास गरौं ।
४) आफुलाई लागेको कुरा सबैलाई भन्न पाउने अधिकार छ ।
५) देश बचाउने कुनै व्यक्ति विशेषले होइन नेपाली जनताले हो ।
६) कोहि कोही प्रति पूर्वाग्रही नबनौं । छातिमा हात राखेर मनन गरौं । राजावादी र गणतन्त्रवादी लडभिड गरी रहने हो भने सर्वसाधारण जनताले कहिले शान्ति पाउने ।
७) देश र जनताको सम्पत्तिमा दोहन गरेर देशलाई र नेपाली जनतालाई अभिभावकत्व दिन नसक्ने अहिलेसम्म का सबै काण्डहरुको निश्पक्ष छानविन गरी कार्बाही गर्न र दोषी देखिएकालाई कठ्घरामा उभ्याउने गरौं ।
काण्डहरु :
१) बाँसबारी जग्गा बिक्री काण्ड ।
२) त्रिभुवन विश्वविद्यालय जग्गा बिक्री काण्ड ।
३) बाल मन्दिर जग्गा बिक्री काण्ड ।
४) एनसेल काण्ड ।
५) वाइडबडी काण्ड ।
६) टेरा मक्स काण्ड ।
७) ललिता निवास जग्गा बिक्री काण्ड ।
८) गिरिबन्धु टि स्टेट बिक्री काण्ड ।
९) भुटानी शरणार्थी काण्ड ।
१०) भिजिट भिसामा मानव तस्करी गरी नेपाली जनतालाई बिक्रि गर्ने काण्ड ।










