हेटौंडा : हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा सोमबार जलवायु सम्मेलन सम्पन्न भएको छ । विद्यार्थीको सक्रियता र सहभागितामा सम्पन्न भएको सम्मेलनमा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक प्रदर्शन र संवाद भएको छ । ‘सृजनशील सोच, प्रविधि र संवादको सहायताले हरित भविष्य निर्माण गरौं’ भन्ने नारासहित प्रदर्शनीको आयोजना गरिएको थियोे ।
प्रदर्शनीमा विद्यार्थीले जलवायु परिवर्तनसम्बन्धी चेतनामूलक तस्बिरहरू प्रदर्शन गरेका थिए । विद्यार्थीले प्रदर्शन गरेका तस्बिरमा पृथ्वी जोगाउनका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । प्लास्टिकका पुराना बोतलहरू पुनः प्रयोग गरी तयार गरिएका आकर्षक फूलदानीहरू समेत प्रदर्शन गरिएको थियो । जसले फोहोरलाई पनि सजिलो उपायले प्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । त्यस्तै, विद्यार्थीहरूले स्वचालित कार, वर्षाको पानी संकलन प्रणाली र अटोमेसनसँग सम्बन्धित विभिन्न परियोजनाहरू प्रस्तुत गरेका थिए ।
प्रविधिको सहायताले वातावरण संरक्षणका लागि गर्न सकिने कार्यहरूको बारेमा पनि जोड दिइएको छ । प्रदर्शनीमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन र वातावरण अभियन्ता प्रसुज मैनालीको उपस्थिति रहेको थियो । बालजागृतिले आगामी दिनमा यस्तै सिर्जनशील तथा सचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ । विद्यार्थीको प्रदर्शनीयमा अभिभावक र सरकोरवालाले अवलोकन गरेका थिए ।











