
हेटौँडा :बागमती प्रदेश सभामा प्रदेश सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । सोमबार प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि आआफ्ना धारणा राखेका छन् ।
प्रदेश सभा बैठकमा सत्तापक्षका प्रदेश सभा सदस्यले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले भने आलोचना गरेको छ । प्रदेश सरकारले हालसम्म सार्वजनिक गरेका नीति तथा कार्यक्रमलाई समीक्षा गरेर, अध्ययन गरेर हेर्न पनि माग गरेका थिए । प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रम बनाउँदै गर्दा दलीय स्वार्थबाट टाढा रहनुपर्नेमा पनि ध्यानाकर्षण गर्नुहुनेछ । मन्त्रीहरुको अनुपस्थितिप्रति प्रश्न गर्दै मुख्यमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यले गरेका टिप्पणीलाई कसरी टिपोट गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए ।
प्रदेश सभा सदस्य जयराम थापाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा के गर्छौं भन्ने विषयमा घनिभूत छलफल गर्न सक्दैनौं भने कस्तो मार्गचित्र प्रस्तुत गर्छ भन्दै प्रश्न गर्नुभयो । अनुसन्धानबिना विकास सम्भव नभएको उल्लेख गर्नुहुँदै नियम र विधिलाई एकातिर राखेर बनाएको नीति तथा कार्यक्रमले हुन नसक्नेमा उहाँले जोड दिनुभयो । उपयुक्त नीति र कानून बनाउन अनुसन्धान जरुरी रहेको औँल्याउनुहुँदै प्रदेश सभा सदस्य थापाले भन्नुभयो, ‘हामी नवौं बजेटको तयारीमा छौं । आठौं बजेटसम्म प्रस्तुत गरेका नीति तथा कार्यक्रम राम्रा छन् । भोलिका दिनमा पनि नीति तथा कार्यक्रम राम्रो छ । तर, कार्यान्वयन कसरी प्रभावकारी बनाउने भन्नेमा समस्या छ । हाम्रोमा कार्यान्वयन गर्ने तह फितलो छ ।’ ‘पूर्वमुख्यमन्त्रीले पनि राम्रो कुरा गर्नुभयो । त्यो कुरा आफू मुख्यमन्त्री हुँदा गर्नुभएको भए कस्तो राम्रो हुने रहेछ ।’ प्रदेश सभा सदस्य थापाले भन्नुभयो । अहिलेसम्मका नीति, कार्यक्रम, सिद्धान्त, बजेट, कर्मचारी संरचनाको समीक्षा गर्न, अनुसन्धान गर्न उल्लेख गर्नुभयो ।
प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले नीति तथा कार्यक्रमको आलोकमै बजेट निर्माण हुने उल्लेख गर्नुहुँदै तीव्र आर्थिक वृद्धि समन्यायिक वितरण जरुरी रहेको औँल्याउनुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको ११६ बुँदे नीति तथा कार्यक्रमले समाजवाद निर्माण गर्न निर्देशित गर्न नसकेको बताउनुभयो । गाउँलाई आत्मनिर्भर बनाउनुपर्ने र उत्पादन बढाएर पुँजी भित्र्याउनुपर्नेमा जोड दिनुहुँदै अध्ययन, अनुसन्धानमा कुल बजेटको १ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । अघिल्लो सरकारका केही कार्यक्रमलाई निरन्तरता दिएकोमा उहाँले धन्यवाद दिनुभयो । स्रोतको खोजी र परिचालन गर्ने आँटसहित बजेट बनाउन पनि उहाँले सुझाव दिनुभएको छ ।
प्रदेश सभा सदस्य युवराज दूलालले प्रदेश सभाको सुरुवाती समयको नीति तथा कार्यक्रममा हुने छलफल र अहिलेको छलफलको अवस्थाको तुलनात्मक अध्ययन गर्न प्रदेश सभा सदस्यहरुलाई आग्रह गर्नुभयो । मन्त्रीहरुको अनुपस्थिति, प्रदेश सभाका सदस्यहरुकै अनुपस्थितिले प्रदेश सभाको अवमूल्यन भइरहेको उहाँले उल्लेख गर्नुभयो । नीति तथा कार्यक्रममाथिको छलफल समर्थन या आलोचना भन्दा पनि प्रदेश संरचनालाई कसरी बलियो बनाउने, प्रदेश सभा सदस्यलाई कसरी प्रभावशाली बनाउने भन्नेमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रदेश सभा सदस्य उद्धव थापाले नीति तथा कार्यक्रमको प्रस्तुती बिरालो बाँधेको जस्तो मात्रै हुने गरेको बताउनुहुँदै हालसम्मका बजेटले के परिवर्तन भयो भनेर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सत्ता स्वार्थ भन्दा माथि उठेर नीति तथा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रदेश सभाको बैठक आज मंगलबार दिउँसो १ बजे पनि जारी रहनेछ ।









