संयुक्त राष्ट्रसंघीय नमूना महासभा सहभागीलाई प्रशंसापत्र प्रदान गर्नुहुँदै महासचिवको भूमिकामा रहनुभएका निकेश श्रीवास्तव ।

हेटौँडा : हेटौँडा–४ स्थित नवोदय शिशु सदनले आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघीय महासभा सम्पन्न भएको छ । बिहीबारदेखि सुरु भएको तीन दिवसीय नमूना महासभा शनिबार बिहान एक समारोहकाबीच सम्पन्न भएको हो । विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्बन्ध र विषयका बारेमा जानकारी गराउने, विद्यार्थीमा नेतृत्व विकास गराउने उद्देश्यले नमूना राष्ट्रसंघीय महासभाको आयोजना गर्ने गरेको छ ।

पाँचौं संस्करणको नमूना संयुक्त राष्ट्रसंघीय महासभामा नवोदयसँगै हेटौँडाका कमाने एमेडेमी, मकवानपुर बालविद्या सदनसँगै चितवन, रौतहट, रुपन्देही, नवलपरासी, कास्की जिल्लाका विद्यार्थीको पनि सहभागिता रहेको थियो । कक्षा–८, ९ र १० मा अध्ययनरत विद्यार्थीको सहभागितामा संयुक्त राष्ट्रसंघको विभिन्न सात वटा समिति समेत गठन गरी समसामयिक मुद्दामा छलफल गरिएको थियो । समापन समारोहमा नमूना महासभाका महासचिव निकेश श्रीवास्तवले विभिन्न समितिका प्रमुख तथा सदस्यहरुलाई सम्मान गर्नुभएको थियो । साथै समितिगत रुपमा पनि सम्मान गरिएको थियो ।

नमूना महासभामा राष्ट्रसंघीय सात वटा विभिन्न संगठनहरुको ढाँचामा विद्यार्थीले भूमिका निर्वाह गरेका थिए । विश्व स्वास्थ्य संगठन, सुरक्षा परिषद्, मानव अधिकार परिषद्, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघीय बाल कोष र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रममा विद्यार्थीले प्रस्तुती गरेका थिए । नमूना महासभामा सहभागी विद्यार्थीले जीवनकै महत्वपूर्ण अनुभव र अभ्यास गर्न पाएको बताएका थिए । शिक्षकले पनि विद्यार्थीको सहभागिता प्रति खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता अभ्यासलाई निरन्तरता दिन जरुरी रहेको बताएका थिए