मकवानपुर जिल्ला क्रिकेट टिमले जर्सी प्राप्त गरेपछि जर्सी प्रदर्शन गर्दै कप्तान सुमन सुनार र अर्का एक खेलाडी ।

हेटौँडा : चौथो संस्करणको जीतपुर–सिमरा टि–२० हरपुर च्याम्पियन ट्रफीको उद्घाटन खेलमा मकवानपुरले रौतहटसँग हार व्यहोरेको छ । साविक विजेता मकवानपुर रौतहटसँग २८ रनले पराजित भएको हो । टस जितेर पहिले व्याटिङ गरेको रौतहटले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर १०८ रन मात्रै बनाएको थियो ।

रौतहटका लागि सन्नी साहले २३, अरविन्द चौधरीले १९, निश्चल बिक्रमले १४ र नितेश यादवले १३ रनको योगदान दिए । रौतहटलाई सस्तैमा समेट्ने क्रममा मकवानपुरका असिम श्रेष्ठले ४, शुभ कंशाकारले ३ र निश्चल दूलालले २ विकेट लिएका थिए । जवाफी व्याटिङमा उत्रिएको मकवानपुरले १८ ओभर खेल्दै ८० रन जोड्दै गर्दा अल आउट हुन पुग्यो । मकवानपुरका कप्तान सुमन सुनारले ३४ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । रौतहट उमेश पटेल, नितेश यादव, आशिक बैठा र सन्नी साहले समान २÷२ विकेट लिए ।

प्लेयर अफ द म्याच रौतहटका सन्नी साह घोषित भए । मकवानपुरले आज आइतबार पर्सा जिल्लाको युनाइटेड क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको छ । सहभागी ६ वटा टिमलाई दुई वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बारा जिल्ला क्रिकेट टिम, पर्सा जिल्ला क्रिकेट टिम र आयोजक हरपुर क्रिकेट क्लब रहेको छ । समूह ‘बी’ मा मकवानपुरसहित रौतहट र पर्साको युनाइटेड क्रिकेट क्लब रहेको छ । दुबै समूहको विजेता स्वतः फाइनल प्रवेश गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ २२ गते हुनेछ ।

प्रतियोगितामा उपाधि विजेताले ६० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ । हरपुर क्रिकेट क्लबको आयोजना तथा बारा जिल्ला क्रिकेट संघको सहयोग र मधेश प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रतियोगिता भएको हो ।

एक्सपर्ट भिजनको सहयोग
मकवानपुर जिल्ला क्रिकेट टिमलाई एक्सपर्ट भिजन कन्सल्टेन्सीले जर्सी सहयोग गरेको छ । बारा जिल्लाको हरपुर क्रिकेट क्लबले आयोजना गरेको जीतपुर–सिमरा पाँचौं टि–२० हरपुर च्याम्पियन ट्रफीमा सहभागी हुने मकवानपुरको टिमलाई शनिबार बिहान जर्सी हस्तान्तरण गरिएको हो । एक्सपर्ट भिजन कन्सल्टेन्सीकी प्रतिनिधि स्मृति मल्लले मकवानपुरको क्रिकेट टिमका कप्तान सुमन सुनारलाई जर्सी हस्तान्तरण गर्नुभयो ।