सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–२ का ६२ वर्षीय श्यामबहादुर ब्लोन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा मृत भेटिएका छन् । गत बिहीबार बिहान ८ बजेको समयमा श्यामबहादुरसहित २८ वर्षीय श्रवणकुमार ब्लोन र ५० वर्षीय भक्तबहादुर आलेमगर निकुञ्ज क्षेत्रमा प्रवेश गरेका थिए ।

जंगल गएका तीनजना मध्ये श्रवणकुमार र भक्तबहादुर भने २ दिनपछि शनिबार दिउँसो मात्रै घर फर्केका थिए । श्रवणकुमार र भक्तबहादुरले श्यामबहादुर जंगली हात्तीको आक्रमणमा परेको खबर गरेपछि खोजी गर्ने क्रममा सोमबार साँझ ७ बजेर १५ मिनेटको समयमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१, रामभऔरी नजिकै रहेको शितलपुर जंगलमा श्यामबहादुर मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मनहरी गाउँपालिका २ नम्बर वडाध्यक्षसहित ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको प्रहरी टोलीले खोजी कार्य गरेका थिए । श्यामबहादुरको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल बीरगन्ज लगिएको प्रहरीले जानकारी दिएको छ ।