हेटौँडा: हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल सडक ८ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको कामका लागि सडक बन्द हुने भएको हो ।

पूर्वाधार विकास कार्यालय, ललितपुर मार्फत् ठेक्का लागेर स्तरोन्नति कार्य भइरहेको सो सडक खण्डको केही भागमा ढलानको काम भइरहेको छ । उक्त कार्यमा सवारी आवागमनले बाधा हुने भएपछि जेठ १३ गते मंगलबारबाट जेठ २० गतेसम्म सो सडक खण्ड बन्द गरिएको हो । ८ दिनको अवधिमा सो सडकमा सवारीका साधन आवागमन पूर्णरुपमा बन्द गरिएको कार्यालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख इन्जिनियर राजु श्रेष्ठका अनुसार सो सडकमा ढलान भइरहेको र सो सडकमा सवारीका साधन आवागमन हुँदा मोडहरुमा ढलान कार्यमा अप्ठ्यारो भएकोले बन्द गरिएको हो । सडक खण्डको सशस्त्र क्याम्पदेखि मकैबारीसम्म निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो । सवारी साधनको आवागमन बन्द गरी निर्माण कार्यमा सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको छ ।