हेटौँडाः स्वस्थ खाना तथा स्वस्थ जीवनशैलीका लागि पोषणसम्बन्धी जनचेतनामूलक प्रदर्शनी गरिएको छ । हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा प्रदर्शनी गरिएको हो ।
विद्यालय स्वास्थ्य एकाइले प्रदर्शनी गरेको हो । प्रदर्शनीमा विभिन्न प्रकारका पोषण तत्वहरुको फरक–फरक स्टल राखिएको थियो । पोषण पिरामिड तथा स्वास्थ्य प्रवद्र्धनका लागि जानकारीमूलक सामग्रीको प्रदर्शनी गरिएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्रनाथ पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौंडा–५ का वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्य थियो । जनस्वास्थ्य शाखा प्रमुख सूर्य तिवारीको विशिष्ट आतिथ्य थियो ।
वडा सदस्यहरु, विद्यालयका प्रधानाध्यापक भरत अर्याल, विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । स्थानीय स्तरमा पाइने रैथाने खानाहरुलाई प्रोत्साहन गर्नुका साथै विद्यार्थीलाई पोषणबारे जानकारी दिन प्रदर्शनी गरिएको विद्यालयका हेल्थ नर्स प्रतिमा सेढाईले जानकारी दिनुभयो । कार्यक्रमबाट विद्यार्थीहरुले स्वस्थकर खानपानमा जोड दिने र स्वस्थ जीवनशैली अपनाउन सहयोग पुग्ने अपेक्षा लिइएको उहाँले बताउनुभयो ।
















