हेटौँडा: हेटौँडामा जारी मेयर कप फुटबल प्रतियोगितामा हेटौँडा–७ र हेटौँडा–११ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा हेटौँडा–११ ले हेटौँडा–१ लाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । हेटौँडा–११ का लागि दुबै गोल रोमन श्रेष्ठले गरे । रोमन प्लेयर अफ द म्याच घोषित भए । रोमनले दुई हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
हेटौँडा–१ ले भने हेटौँडा–११ ले फरक खेलाडी खेलाएको भन्दै आपत्ति जनाएको छ । हेटौँडा–११ ले नियम विपरित वडा बाहिरको खेलाडीलाई फरक नाममा मैदानमा उतारेको आरोप लगाइएको छ । आयोजक समिति सदस्य यज्ञ बहादुर रायका अनुसार उक्त उजुरी समितिमा दर्ता भइसकेको छ र छानबिन प्रक्रिया मंगलबार हुनेछ । सोमबारनै भएको दोस्रा खेलमा हेटौँडा–७ ले हेटौँडा–१८ लाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौँडा–७ का सुजन लामाले निर्णायक गोल गर्दै टोलीलाई विजयी बनाए । उनी म्यान अफ द म्याच घोषित हुँदै नगद दुई हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
आयोजक समितिका अध्यक्ष रविन्द्र घिमिरेका अनुसार प्रतियोगिता अन्तर्गत मंगलबार दुईवटा सेमिफाइनल खेलहरू हुनेछन् । पाँचौँ मेयर कप फुटबल प्रतियोगिताका विजेता टोलीले उपाधिसहित नगद दुई लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ १५ गते हुने जानकारी आयोजकले दिएको छ ।










