हिमाल, पहाड, तराई, मधेश र असंख्य प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाल सुन्दर रमणीय देश हो । जलस्रोत, जडिबुटी, कृषि, पर्यटन जस्ता क्षेत्रमा प्रचुर विकास र सम्भावना रहँदा रहँदै पनि यहाँको ठूलो युवा जनशक्ति रोजगारी र अध्ययनको सिलसिलामा बिदेशिन बाध्य छन् । नेपालमा १६ देखि ४० वर्षका युवा जनशक्तिको संख्या उत्साहजनक रहेको छ । अर्थात मुलुकको कुल जनसंख्याको झण्डै ४० प्रतिशतभन्दा बढी भाग युवाहरूले ओगटेका छन् । यो अवस्थालाई कुनै पनि मुलुकले अवसरको रूपमा लिनुपर्ने हो, तर विडम्बना के छ भने नेपालले यस युवा शक्तिको सदुपयोग गर्न सकेको छैन । प्रत्येक दिन हजारौं नेपाली युवा वैदेशिक रोजगारी, अध्ययन वा प्रवासको बाटो रोजिरहेका छन् ।

नेपाली समाजमा विदेश जानुलाई सफलताको प्रतिक झैँ लिने प्रवृत्तिले गर्दा देशभित्र सम्भावना खोज्नेभन्दा बाहिर जाने प्रवृत्ति हावी भएको छ । युवाहरु आफ्नो स्कूलको पढाई सम्पन्न गर्ने बितिकै पासपोर्ट बनाउने तयारी थाल्छन् । पैसा हुने अष्ट्रेलिया, जर्मन, अमेरिका, क्यानडा पुग्छन् । पैसा कम हुने दुबई, मलेसिया, कतार पुग्छन् । यस क्रममा महिलाहरूको संख्या पनि उल्लेखनीय छ । यस पृष्ठभूमिमा युवाहरूलाई विदेश पठाउने वातावरण निर्माण गर्ने भन्दा तिनीहरूलाई देशमै अवसर दिन सक्ने संरचना निर्माण गर्नु नै दीर्घकालीन समाधान हो । यूवा मूलूकको उर्जाशील शक्ति हो । यो शक्तिको सदुपयोग हुनसक्यो भने देशले कायापलट गर्न सक्छ । विदेशमा श्रम र मिहिनेत गरेर अर्काको देश बनाउने यूवा शक्तिले आफ्नो देशमै अवसर पाए यो देशलाई स्वर्ग बनाउने थिए । सरकार यूवामैत्री छैन । बुढापूस्ताले नेतृत्व गरेको देश नयाँ पुस्ता प्रति सकारात्मक छैन । यहि देशमा सीप, तालिम, रोजगारी, कृषिमा प्रोत्साहन, सर्टिफिकेटको आधारमा काम गर्न सुलभ ऋण जस्ता कार्यक्रम अघि बढाउन सके अलिकति भएका युवाहरू देशमा थामिन्थे । सरकारले युवा सम्बन्धी युवा परिषद गठन गरेको छ तर राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने केन्द्र भएको छ ।

नेपाल सरकारको वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै झण्डै ७ लाख युवाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । तीमध्ये अधिकतम संख्या खाडी मुलुकहरू, मलेसिया, दक्षिण कोरिया र जापानतर्फ गएका छन् । अध्ययनका लागि पनि प्रत्येक वर्ष झण्डै एक लाख युवाहरू युरोप, अमेरिका, अष्ट्रेलिया र जापानतर्फ जान्छन् । यीमध्ये ठूलो संख्याका युवा स्वदेश फर्किँदैनन् । विदेश पलायनको यस्तो प्रवृत्तिले नेपाललाई युवा निर्यात गर्ने मुलुकको रूपमा चिनाउन थालेको छ ।

नेपालमा युवा बेरोजगारी दर झण्डै १९ प्रतिशत रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सन् २०२३ को प्रतिवेदनले देखाउँछ । पारिवारिक दबाव, आर्थिक असुरक्षा र राजनीतिक नेतृत्वप्रति असन्तुष्टिले गर्दा पनि युवाहरूमा स्वदेशमै भविष्य देख्ने आँट हराउँदै गएको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले त देशको अर्थतन्त्रलाई केही समयसम्म चलायमान बनाउँछ, तर दीर्घकालमा यसले देशलाई निर्भर, आयातमुखी र नवप्रवर्तनविहीन बनाउँदै लग्दछ ।

सबै युवाले विदेश जानु गलत हो भन्ने त होइन । सन्दर्भ, परिस्थिति र व्यक्तिको रोजाइमा आधारित निर्णय स्वतन्त्र हुन्छ । तर जब देशको बहुसंख्यक युवाशक्ति ‘काम छैन’, ‘नेता भ्रष्ट छन्’, ‘सिस्टम चलेको छैन’ भन्ने मनोदशासहित विदेशी भूमिमा स्थायी बसोबासका लागि हानिन्छन्, तब त्यसलाई ‘विकल्प’ भन्नुभन्दा पनि ‘संकट’ भन्नु उपयुक्त हुन्छ । विदेश गएर सीप लिएका, पढेका, काम गरेका युवाहरू फिर्ता आउने वातावरण बनाउनु आजको आवश्यकता हो । ती युवाहरूलाई देशमा अवसरको अभावले होइन, अवसर नदेख्ने व्यवस्थाले विदेशतिर धकेलेको हो ।

कुनै पनि मुलुकले आफ्नो जनशक्तिको पलायनलाई रोक्न वा उल्ट्याउन चाहन्छ भने त्यसका लागि स्पष्ट नीति, आकर्षक योजना र दीर्घकालीन दृष्टिकोण आवश्यक पर्छ । यस्ता उदाहरण विश्वमा प्रशस्तै छन् । दक्षिण कोरियाले विदेशमा काम गरिसकेका नागरिकलाई ‘रिटर्नी इन्टरप्रेनियरसीप प्रोग्राम’ अन्तर्गत व्यापार थाल्नका लागि बैंक ऋण, कर छुट र स्टार्टअप अनुदान दिएको छ । उनीहरूको सीपलाई स्वदेशमा लगानी गर्न मिल्ने वातावरण निर्माण गरिएको छ । त्यस्तै, फिलिपिन्सले ‘बालिकवयान प्रोग्राम’ मार्फत विदेशबाट फर्कने नागरिकहरूलाई कृषिमा लगानी गर्न तालिम, भूमि पहुँच, बजार समन्वय र प्राविधिक सहयोग दिएको छ । यसमार्फत फर्केका हजारौं युवाहरू अहिले देशमै सफल उद्यमी भएका छन् । चीनले ‘सी टर्टल स्ट्राटेजी’ अन्तर्गत विदेश पढ्न गएका नागरिकलाई स्वदेशमा फर्कन प्रोत्साहित गर्दै राज्यद्वारा सञ्चालित इनक्युबेटर कार्यक्रम, अनुसन्धान केन्द्रको नेतृत्व र व्यावसायिक अवसर उपलब्ध गराएको छ । यस नीतिले आज चीनमा प्रविधिमा क्रान्ति ल्याउन योगदान दिएको छ ।

भुटानले समेत कोभिड महामारीपछि देश फर्केका युवाहरूलाई ‘बिल्ट भुटान प्रोजेक्ट’ अन्तर्गत निर्माण, ऊर्जा र पूर्वाधार क्षेत्रमा सीपअनुसार समायोजन गरेको छ । यसले केवल बेरोजगारी घटाएन, जनशक्तिमा आत्मविश्वास पनि जगायो । इजरायलले आफ्नो रक्षा सेवा प्रणालीमार्फत युवाहरूलाई अनुशासन, राष्ट्रिय भावना र सीप सिकाउने वातावरण बनाएको छ । सेवापछि उनीहरूलाई उद्यमशीलता र सार्वजनिक क्षेत्रमा सामेल हुन प्रोत्साहन गरिन्छ । नेपालले पनि राष्ट्रिय सेवा प्रणाली ल्याएर एक वर्ष युवा सेवा कार्यक्रम लागू गर्न सक्छ । रुवाण्डाले ‘युथ कनेक्ट’ नामक कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा युवालाई नीति निर्माणमा सहभागी गराउने, उद्यममा अनुदान दिने र स्थानीय सरकारसँग उनीहरूको सञ्जाल बनाउने व्यवस्था गरिएको छ । सिंगापुरमा प्राविधिक शिक्षालाई मुख्य आधार शिक्षा बनाइएको छ । युवालाई डिग्री होइन, सीप प्रधान बनाउने नीतिको सफल उदाहरण हो यो । यी सबै अभ्यासहरूको मूल सन्देश एउटै छ युवालाई सीप, अवसर, सम्मान र स्पष्ट दिग्दर्शन दिन सकेको खण्डमा उनीहरू आफ्नो देशमै बसेर भविष्य निर्माण गर्न तयार हुन्छन् ।

नेपालको समस्या युवाको विदेश पलायन मात्रै होइन, देशभित्रै उनीहरूका लागि रोजगारी र सम्भावनाको निर्माण हुन नसक्नु हो । त्यसैले अबको बाटो भनेको रोजगारी सृजनामूलक विकास मोडेल तयार गर्नु हो । नेपालको ६५ प्रतिशत जनसंख्या कृषि पेशामा आधारित छ, तर यसको उत्पादकत्व कम छ । कृषि क्षेत्रमा प्रविधिको प्रयोग, सहकारी विस्तार र युवा लक्षित कृषक अनुदान कार्यक्रममार्फत उत्पादनमुखी, व्यावसायिक र निर्यातमुखी बनाउनु जरुरी छ । विदेशबाट फर्केका युवाहरूलाई आधुनिक कृषि उपकरण प्रयोग, जैविक खेती र मूल्यचक्रको व्यावसायिक संरचना बुझाउने तालिम दिने हो भने उनीहरू गाउँ फर्किन सक्छन् ।

नेपालको पर्यटकीय सम्भावना अपार छ । तर यो केवल हिमाल चढाइ र सहर केन्द्रित होटेल व्यवसायमै सीमित छ । प्रत्येक गाउँ र सहरमा होमस्टे प्लस कार्यक्रम सञ्चालन गरी युवाहरूलाई गाइड, व्यवस्थापक र प्रवर्धक बनाउने नीति ल्याउन सकिन्छ । साथै, डिजिटल नेम्ड भिलेज कार्यक्रम ल्याएर विदेशीहरूलाई इन्टरनेट र वातावरणमैत्री बसोबास दिने वातावरण बनाएर रोजगार सृजना गर्न सकिन्छ । देशभित्र प्रत्येक पालिकामा कम्तीमा १० युवालाई स्टार्टअप/व्यवसाय थालनीका लागि सहुलियत ऋण र तालिम दिने हो भने ७५३ पालिकाबाट झण्डै ७,५०० नयाँ रोजगारी सृजना गर्न सकिन्छ । निजी क्षेत्र, बैंक तथा सहकारीले रिटर्नी युथ इन्भेस्टमेन्ट स्किम सञ्चालन गर्ने हो भने युवा पलायनको प्रवृत्ति घट्न सक्छ ।

जलविद्युत्, सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, जैविक उर्वरक निर्माण जस्ता क्षेत्रमा लाखौं युवाहरूलाई समेट्न सकिन्छ । नेपालको जलस्रोत र पर्यावरणीय विविधतामा आधारित रोजगारी कार्यक्रमले दीर्घकालीन रोजगारी सिर्जना गर्न सक्छ । नेपालमा लाखौं युवा बीए, बीबीएस, बीएड पढेपछि पनि बेरोजगार छन्, किनभने बजारसँग उनीहरूको सीप मेल खाँदैन । त्यसैले प्राविधिक तालिम, सर्ट टर्म स्किल डेभलपमेन्ट कार्यक्रम र व्यावसायिक इन्टर्नसीप प्रणालीलाई संस्थागत बनाउन जरुरी छ ।

नेपालको पछिल्लो तीन दशकको इतिहास हेर्दा राजनीतिक अस्थिरता नै विकासको प्रमुख बाधक देखिन्छ । २०४६ यताका ३५ वर्षमा नेपालमा झण्डै ३० पटक सरकार परिवर्तन भएको छ । नीति निरन्तरता, लगानीको ग्यारेन्टी र युवाको भविष्यको सुनिश्चितता नहुनु पनि पलायनको प्रमुख कारण हो । राजनीतिक स्थायित्व ल्याउनका लागि निर्वाचन प्रणालीमा सुधार आवश्यक छ । रन अफ इलेक्सन प्रणाली ल्याई स्पष्ट जनादेश सुनिश्चित गर्नु आवश्यक छ । स्थानीय सरकारहरूलाई पूर्ण अधिकार, स्रोत र जवाफदेही बनाउने नीति अपनाउनुपर्छ । त्यसका साथै भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति लागू गरेर जवाफदेहिता स्थापना गर्न सकिएमा युवाहरूमा विश्वास बढ्न सक्छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको सञ्जाल निर्माण गरी उनीहरूको सीपअनुसार पदस्थापनका लागि सहयोग गर्ने व्यवस्था गर्नुपर्छ । प्रदेश सरकारहरू र निजी क्षेत्रसँग सहकार्य गरेर फर्क युवा पोर्टल निर्माण गरी उनीहरूको प्रोफाइल, सीप र रुचिअनुसार रोजगारी मिलाउने काम गर्न सकिन्छ । विदेशमा बसेका नेपाली वा एनआरएन लाई लगानी कोषमा लगानी गर्न प्रेरित गर्दै, उनीहरूलाई उद्योग स्थापना गर्न कर छुट, जग्गा सहजीकरण र बैंक ग्यारेन्टी दिन सकिन्छ । यसले विदेश बसेका युवाहरूलाई मातृभूमिमा लगानी गर्न उत्प्रेरणा दिन सक्छ ।

फर्केर देशमै व्यवसाय सञ्चालन गरेका युवाहरूको कथा प्रचारप्रसार गर्नु जरुरी छ । यसले बाँकी युवाहरूमा पनि विश्वास जगाउने छ । सरकारी र निजी टेलिभिजन, रेडियो तथा सामाजिक सञ्जालमार्फत सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । विद्यालय र कलेज तहदेखि नै ‘नेपालमै रहौं, नोल बनाऔं’ भन्ने मूल्य र विचार प्रवाह गर्नुपर्छ । केवल डिग्री केन्द्रित होइन, व्यवहारिक सीपमा आधारित शिक्षा प्रणाली निर्माण जरुरी छ ।

नेपालका युवाहरूको विदेश पलायन गम्भीर सामाजिक, आर्थिक र राजनीतिक संकट हो । यो केवल रोजगारको समस्या होइन, विश्वासको संकट पनि हो । जबसम्म राज्यले युवालाई अवसर, सीप, सम्मान र भरोसा दिन सक्दैन, तबसम्म उनीहरू भाग्ने छन् । त्यसैले, विदेश जानु भाग्ने विकल्प होइन, देशमै सम्भावना खोज्ने वातावरण निर्माण गर्नु नै दीर्घकालीन समाधान हो । नेपाल अब रेमिटान्समा निर्भर अर्थतन्त्रबाट युवाले नेतृत्व गरेको नवप्रवर्तनमा आधारित अर्थतन्त्रमा रूपान्तरण हुनुपर्ने समय आएको छ । त्यसका लागि राजनीतिक इच्छाशक्ति, नीति निरन्तरता र सामाजिक उत्तरदायित्वको समग्र संयुक्त प्रयास आवश्यक छ ।

नेपालका अधिकांश विद्यालयमा इतिहास विषयलाई प्राथमिकता दिइँदैन । विद्यालयहरूमा त इतिहास पढाइ नै हुँदैन । जसले गर्दा आजको पुस्ताले न त पृथ्वीनारायण शाहको एकीकरण बुझ्छ, न जनआन्दोलन, न संविधान निर्माणको प्रक्रिया, न नक्सा प्रकरणको मर्म बुझ्नसक्छ । इतिहासविहीन पुस्ताले केवल ‘गुगल’ मा जवाफ खोज्छ, तर आत्मा खोज्दैन । पुस्ताले जब आफ्नो विगत जान्दैन, तब उसलाई देशप्रेम केवल भाषणका शब्द लाग्छ । इतिहास पढेपछि मात्र व्यक्तिमा समर्पणको भावना आउँछ, हिजोका नायकहरूको बलिदान बुझिन्छ र भोलिको नेतृत्वको संकल्प बनिन्छ । जर्मनी, जापान, अमेरिका लगायतका राष्ट्रहरूले इतिहासलाई पाठ्यक्रमको मेरुदण्ड बनाएका छन्, त्यसैले ती राष्ट्रका युवामा राष्ट्रविरोधी भावना भन्दा राष्ट्र निर्माणको भावना बलियो छ ।

नेपालमा राष्ट्र निर्माणको विचार प्राथमिक तहमै रोप्नुपर्छ । ‘म’ भन्दा ‘हामी’ सोच्न सिकाउने, देशलाई अवसरके विकल्प होइन, ‘जीवनको अभिन्न भाग’ बनाउने शिक्षा प्रणाली चाहिन्छ । इतिहास पढेर मात्रै राष्ट्रिय पहिचान निर्माण हुन्छ । केवल भावनामा होइन, योजनामा आधारित राष्ट्र निर्माण आवश्यक छ । विदेश जानु न त पाप हो न गुनासोको विषय । तर विदेश जानुको कारण केवल ‘यहाँ केही छैन’ भन्ने मनोदशा हुनु भने संकट हो । त्यो संकट समाधान गर्न अब राज्य, समाज, शिक्षा प्रणाली र निजी क्षेत्र सबैको साझा जिम्मेवारी हो ।