हेटौँडा : मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले ‘साहित्य संगम मकवानपुर कृति सम्मान–२०८२’ का लागि कृति आव्हान गरेको छ । संगमले सोमबार एक सूचना जारी गर्दै संस्थापकहरूमध्येका एक जनालाई केशव श्रेष्ठ ‘ज्योति’को स्मृतिमा स्थापित उक्त सम्मानका लागि छनोट गर्न लागेको जनाएको छ ।
संगमले जारी गरेको सूचनाअनुसार २०८१ वैशाखदेखि २०८२ चैत मसान्तसम्म प्रकाशित भएका उपन्यास कृति (तीन प्रति) सम्मान तथा पुरस्कार छनोट समितिलाई उपलब्ध गराउनुपर्नेछ । दर्ता गरिएका कृति कुनै पनि राष्ट्रिय सम्मान वा पुरस्कारका लागि छनोट नभएका हुनुपर्ने उल्लेख गरिएको छ ।
कृतिसँग स्रष्टाको नाम, ठेगाना, सम्पर्क नम्बर तथा प्रकाशन मिति स्पष्ट रूपमा उल्लेख गरी पठाउनुपर्नेछ । कृति दर्ता जेठ २५ सम्म गरिसक्नु पर्नेछ । छनोट भएको कृतिका स्रष्टालाई एक कार्यक्रम आयोजना गरी नगद २५ हजार १ रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।










