हेटौँडा : मकवानपुर जिल्ला टेबलटेनिस संघको आयोजनामा प्रथम मकवानपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
प्रतियोगिताको उपाधि एन्जल बिष्टले हात पारेका छन् । जिल्लाका ३२ खेलाडी सहभागी रहेको प्रतियोगिताको उपाधि बिष्टले जितेका हुन् । शनिबार भएको सेमिफाइनलमा बिष्टले अजय यादवलाई ३–० र रवीन्द्र नेपालले परासर वाग्लेलाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । फाइनल खेलमा बिष्टले नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि जितेका थिए । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । उपविजेताले १० हजार र सेमिफाइनलमा पराजित दुई जनाले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताकोको मुख्य प्रायोजक हेटौँडा उपमहानगरपालिका रहेको थियो भने हेटौँडा स्कूल अफ म्यानेजमेन्ट, हेटौँडा सिटी कलेज/जेनिथ स्कूल सह–प्रायोजक थिए । समापन कार्यक्रममा हेटौंँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजकुमार मोक्तान तथा हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडाध्यक्ष सुशील घिमिरेलगायतको आतिथ्य थियो । प्रतियोगिताको उद्घाटन मकवानपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुशान्त गिरीको सभाध्यक्ष र मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको आतिथ्यमा भएको थियो ।











