मकवानपुरका शिवशक्ति महतोलाई प्लेयर अफ द म्याचको ट्रफी प्रदान गरिँदै ।

हेटौँडा : काठमाडौंमा जारी यु–१६ प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा मकवानपुरको अपराजित यात्रा जारी छ । सोमबार भएको खेलमा मकवानपुरले नुवाकोटलाई ३० रनले पराजित गरेको छ । यसअघि मकवानपुरले काठमाडौं, भक्तपुर र ललितपुरलाई पराजित गरेको थियो । चार खेलमा स्पष्ट जीत दर्ता गर्दै मकवानपुरले ८ अंकसहित तालिकाको शीर्षस्थानमा रहन सफल भएको छ ।

सोमबार नुवाकोट विरुद्ध पहिले व्याटिङ गरेको मकवानपुरले निर्धारित ३५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो । मकवानपुरका लागि शिवशक्ति महतोले १ सय १ रनको शानदार शतकीय पारी खेले । यस्तै आशिक अधिकारीले पनि ६४ रनको योगदान गरे । १९६ रनको लक्ष्य पछ्याएको नुवाकोट निर्धारित ३५ ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन मात्रै बनाउन सफल भयो । नुवाकोटका लागि अभि थपलियाले ५३ रन, आशिष गुप्ताले ४६ रनको योगदान दिए पनि हार टार्न सकेन । नुवाकोट विरुद्ध शिवशक्ति महतो र कप्तान रोहित ठाकुरले समान ३/३ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका मकवानपुरका शिवशक्ति महतो प्लेयर अफ द म्याच घोषित भए ।

हारका बाबजुद नुवाकोट ५ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । काठमाडौं पनि ५ अंकसहित तेस्रो स्थानमा छ । ललितपुर ५ अंकसहित चौथो स्थानमा रहँदा भक्तपुर ३ अंकसहित पाँचौँ र अंकविहिन चितवन तालिकाको पुछारमा छ । मकवानपुरले अन्तिम खेल भोलि मंगलबार चितवनसँग खेल्नेछ । प्रदेशस्तरीय छनोट खेलपछि बागमती प्रदेश क्रिकेट संघले यु–१६ प्रदेश टिम तयार पारेर यही जेठ १७ गतेदेखि सुर्खेतमा हुने ७ वटै प्रदेशका टिमबीच हुने प्रतियोगितामा सहभागिता जनाउनेछ ।

लिग तालिका ।