हेटौंडाः बागमती प्रदेशले हेटौंडामा सुविधा सम्पन्न सिटी भ्यू टावर बनाउन गत आर्थिक वर्ष २०७६/०७७ मा २ करोड बजेट विनियोजन गरेको थियो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रायले उक्त योजनाको लागि बजेट छुट्टाए पनि काम हुन सकेन । हेटौंडाको कुन स्थानमा भ्यू टावर निर्माण गर्ने भन्ने टुंगो नलागेपछि भ्यू टावरको बजेट खर्च नभएको हो ।
पर्यटन मन्त्रालयले सिटी भ्यू टावरको लागि चालु वर्षमा उक्त बजेट कटौती गरेको पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाका सूचना अधिकारी द्रोण विक्रम कार्कीले जानकारी दिनुभयो । धेरै छलफल भएपनि टुंगो नलागेका कारण अहिले प्रदेश सरकारले भ्यू टावरको लागि बजेट विनियोजन नगरेको उहाँले बताउनुभयो । पर्यटनको पूर्वाधारका लागि भने बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाले सुविधा सम्पन्न भ्यू टावरसहित सपिङ कम्प्लेक्स निर्माण गर्ने भएको छ । बागमती प्रदेशको एक मात्र हेटौंडा उपमहानगरपालिकाले सुविधा सम्पन्न भ्यू टावरसहित सपिङ कम्प्लेक्स हेटौंडा–४, को बासुदेव सभागृह भएको स्थानमा निर्माण गर्ने भएको हो ।
यस्तै गत आर्थिक वर्षमा प्रदेशको पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास आयोजनाले पर्यटनका भौतिक पूवार्धारलाई मुख्य प्राथमिकतामा राखेर कार्य सुरु गरेको छ । प्रदेशको १३ जिल्लामा पर्यटनको पूर्वाधार निर्माण कार्य बहुवर्षीयसँगै अन्य सञ्चालित रहेका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न पर्यटनका पूर्वाधार निर्माण गर्न सुरुवात गरिए तापनि दिगो हुने खालका योजनाहरु अगाडि बढाइएको उहाँले बताउनुभयो । मकवानपुरमा पनि आव २०७६/०७७ मा पर्यटनका २० आयोजना सञ्चालन गर्ने भनिएकोमा थाहाको ऋषेश्वर सामुदायिक वनमा क्यानोपी वाकिङ निर्माणका लागि २५ लाख बजेट डिपिआर नभएको कारण अगाडि नबढेको बताइएको छ । यस्तै फाखेल मैत्रीपार्क निर्माण गर्न ५ करोड बजेट छुट्टाएकोमा ५० लाख राखेर अन्य रकम फिर्ता गरिएको थियो । उक्त योजनाको डिपिआर लागतयका अन्य कार्य भएको छ ।
चालु वर्षमा भने उक्त पार्क निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । यसैगरी थाहा नगरको मुलाबारीमा पर्यटन पूर्वाधारको लागि विनियोजन भएको ३० लाखको काम अगाडि बढ्न नसकेको हो । डिपिआर नभएको तथा लकडाउनका कारण त्यहाँको कार्य अगाडि बढ्न नसकेको बताइएको छ । गत आव २०७६/७७ मा भने मकवानपुरको पर्यटकीय क्षेत्र शहीद स्मारकको भौतिक पूवार्धार विकासको लागि १ करोड बजेट विनियोजन भएकोमा ५४ लाख ७६ हजार मात्र सम्झौता भएको थियो । सम्झौता भएर काम भएको ५१ लाख ६४ हजार रुपैयाँ भुक्तानी भएको प्रदेश पर्यटन विकास आयोजनाले जनाएको छ । शहीद स्मारकरमा सडक, नाला, बाटो ढलान लगायतको कार्यहरु भएका छन् ।
यस्तै चित्लाङको भ्यू टावर सहितको हिल स्टेशन निर्माणका लागि ३ करोड ५२ लाखमा ठेक्का लागिसकेको छ । हालसम्म उक्त योजनाको काम भएको ५१ लाख ११ हजार रुपैयाँ भुक्तानी भएको छ । ईन्द्रसरोवरको पर्यटकीय पूर्वाधारका लागि ८४ लाख ५२ हजारमा सम्झौता भई कार्य सुरु भएकोमा गत वर्षमा ४९ लाख ४० हजार रुपैयाँ भुक्तानी भएको छ । चित्लाङमा बन्ने साइकल ट्रेल, पदमार्गका लागि ९३ लाखमा सम्झौता भई काम भैरहेको पर्यटन विकास आयोजनाका सूचना अधिकारी कार्कीले बताउनुभयो । उहाँका अनुसार हालसम्म ३० लाख ८७ हजार भूक्तानी भैसकेको छ । अधिकांश बहुवर्षीय योजनाहरु भएकोले चालु वर्षमा पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । मुख्यतः गत चैत्र महिनादेखि मुलुक लकडाउनका कारण काम हुन नसकेको भन्दै काम गरिएको जतिको मात्रै भुक्तानी दिएको उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा मात्रै करिब २० करोड बढी रुपैयाँ खर्चेर पर्यटनका पूर्वाधारहरु पर्यटन विकास आयोजनाले निर्माण गर्दैछ ।