सर्वसाधारणलाई मास्क वितरण गरिँदै ।

हेटौंडाः जेसीआई बसामाडीले यस वर्षको जेसीज सप्ताहको पहिलो दिन आज हेटौंडाको मुख्यचोक बुद्धचोकमा मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई मास्क लगाउन सचेत गर्दै मास्क वितरण गरेको छ । जेसीआई बसामाडीका अध्यक्ष विवेक बजगाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

प्रहरी निरीक्षक भण्डारीले छिमेकी जिल्लाहरुमा कोरोनाको खतरा बढ्दै गएको कारण मकवानपुर बढी जोखिममा रहेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले प्रहरीले जरिवाना लिने डरले भन्दा पनि आफ्नो सुरक्षाका लागि मास्क लगाउनुपर्ने बताउनुभयो । समुदायमा कोरोना विरुद्ध लड्न जनचेतना जगाउने उद्देश्यले मास्क वितरणको कार्यक्रम आयोजना गरिएको जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक गौतम केसीले बताउनुभयो । कार्यक्रममा ५ सय वटा सर्जिकल मास्क वितरण गरिएको थियो । कार्यक्रममा जेसीआई बसामाडीका पूर्व अध्यक्षहरु, जेसीआई बसामाडीका पदाधिकारीको उपस्थिति रहेको थियो । विराज थापाको संयोजकत्वमा मास्क वितरण कार्यक्रम भएको हो ।