हेटौंडाः मनहरी गाउँपालिका–१ मा निर्माण हुँदै गरेको सभाहल र नेपाल मानवधर्म सेवा समितिको भवन निर्माणका लागि नेपाली कांग्रेसका नेताहरुले आर्थिक सहयोग गरेका छन् । तरुण युवाको सहयोगमा सभाहल निर्माण भैरहेको छ भने मानवधर्म सेवा समिति उपशाखाले भवन निर्माण गरिरहेको छ । कांग्रेसका नेताहरुले एक कार्यक्रमकाबीच दुवै संरचना निर्माणका लागि नगद सहयोग गरेका हुन् ।

सभाहल निर्माणका लागि नेपाली कांग्रेसका नेता शंकर न्यौपानेले ५० हजार ५ सय, नेपाली कांग्रेस मनहरी गाउँ समितिका सभापति नारायण उप्रेतीले ५० हजार एकसय, पूर्व जिल्ला सदस्य सिताराम अर्यालले १० हजार, मनहरी गाउँपालिका–७ नम्बर वडा अध्यक्ष ठाकुरसिं तितुङले १० हजार, महाधिवेशन प्रतिनिधि रञ्जन कालाखेतीले २० हजार, क्षेत्रीय उपसभापति नुरोज पौडेलले ५ हजार, तरुण दल मकवानपुर उपाध्यक्ष रामकुमार रायमाझी ‘हारा’ ले २५ हजार, देव थिङ काइँलाले १५ हजार, भीमसेन लामाले ५ हजार र अशोक लामाले ५ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनीहरुले सभाहल निर्माण समिति अध्यक्ष राममणि न्यौपानेलाई नगद हस्तान्तरण गरेका हुन् ।

यस्तै नेपाल मानवधर्म सेवा समितिको भवन निर्माणका लागि गत स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिका अध्यक्षको उम्मेदवार समेत रहेका कांग्रेस नेता शंकर न्यौपानेले ९० हजार एकसय रुपैयाँ, नेपाली कांग्रेस मनहरी गाउँ सभापति नारायण उप्रेतीले २० हजार एकसय रुपैयाँ र पूर्व जिल्ला सदस्य सिताराम अर्यालले २० हजार एकसय रुपैयाँ मानवधर्म सेवा समितिका रामहरि लामिछानेलाई हस्तान्तरण गरेका हुन् । मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनालले कांग्रेस नेताहरुको सहयोगमा वडामा सभाहल र मावधर्म सेवा समितिको भवन बन्न लागेको भन्दै खुसी व्यक्त गरे । यता कांग्रेस नेता न्यौपानेले गत निर्वाचनको समयमा उम्मेदवार भैरहँदा जनाएका प्रतिवद्धताहरु निर्वाचनमा हार व्यहोरेपछि पनि पूरा गर्दै गैरहेको बताउनुभयो ।