हेटौंडाः संगीतकार ‘उस्ताद’ भोला जोशीको सम्झनामा शनिबार हेटौंडामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली संगीत क्षेत्रमा चर्चित संगीतकार भोला जोशी देहवसान भएको शनिबार ७ दिन पुगेको छ । दिवंगत आत्मालाई चिरशान्तिको कामना गर्दै हेटौंडाको सांगीतिक संस्था पिएम सेन्टरले आयोजना गरेको श्रद्धाञ्जली सभामा हेटौंडाका संगीतकारहरु र गायकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्रद्धाञ्जली अर्पण गर्दै गीतकार शम्भुप्रसाद बास्कोटाले उस्ताद भोला जोशी नेपाली संगीत क्षेत्रमा चर्चित रहेको र सधैं अमर रहने बताउनुभयो । उस्ताद भोला जोशीले संगीत भर्नुभएको ‘हे मेरा मित्रहरु हो’ बोलको गीत आफुले लेखेको पनि बास्कोटाले जानकारी दिनुभयो । गायक कमल क्षेत्रीले आफुलाई भोला जोशीले सारेगमप लगायत धेरै संगीतका सरगमहरु सिकाएकोले आफु उस्ताद भोला जोशीप्रति आभारी रहेको बताउनुभयो । भोला जोशीले गायन तथा सांगीतिक क्षेत्रका धेरै मानिसहरुलाई संगीत सिकाएकाले जोशी सबैको मनमा रहिरहने गायक क्षेत्रीले बताउनुभयो ।

संगीतकार प्रमेन्द्र महर्जनले भोला जोशीले संगीत भर्नुभएको ‘हे मेरा मित्रहरु हो’ बोलको गीत गाएर सुनाउनुभयो । भोला जोशीकै विद्यार्थी गायिका सुशीला पाण्डेले भोला जोशीकै कारण आफुले विभिन्न पदकहरु जित्न सफल भएको बताउनुभयो । कलाकार तथा संगीतकार उज्वल शर्मा भण्डारीले आफुले भोला जोशीसँग संगत गरेरै कला क्षेत्रमा सफलता पाएको बताउनुभयो । भोला जोशी सहभागी हुनुभएको कार्यक्रमहरुमा आफु पछि लागेर गएर बाँसुरी बजाउन सिकेका दिनहरु याद गर्दै भण्डारीले तवला, हार्मोनियम, बाँसुरी लगायतका वाद्यवादनमा उस्ताद भोला जोशी उत्कृष्ट भएको चर्चा गर्नुभयो । संगीतकार उस्ताद भोला जोशीले संगीत भर्नुभएको ‘यो जोवान भोलि आउँदैन’, ‘हे मेरा मित्रहरु हो’, ‘बिर्सेउ क्यारे खाएको कसम चा“दनी रातमा’ लगायतका गीतहरु चर्चित रहेका छन् । लामो समयदेखि दम र सुगरको रोगी जोशी जोशीको साउन ११ गते हेटौंडा–९ सिमेन्टरोडस्थित आफ्नै निवासमा देहवासान भएको थियो ।