हेटौँडामा परेको चट्याङ । तस्वीर : राजन कटुवाल/फाइल तस्वीर ।

हेटौँडा : बुधबार बिहान ११ बजेर ३० मिनेटको समयमा वर्षासँगै परेको चट्याङ लागेर चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१, क्याङसिराङका ५१ वर्षीय बिरु चेपाङको मृत्यु भएको छ । बाटोमा हिँडिरहेका चेपाङको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिरु चेपाङसँगै हिँडिरहेका भतिज ३२ वर्षीय दिल बहादुुर चेपाङ भने सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । मनसुन सुरु हुनुअघि हावाहुरी र वर्षासँगै चट्याङ पर्ने गरेको छ । गत चैत ३१ गते चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिकामा पनि एकजनाको घटनास्थलमै मृत्यु भएको थियो ।