उपाधिसाथ थाहा नगरपालिकाको भलिबल टिम ।

हेटौँडाः केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडा र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाले जितेको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा थाहा नगरपालिकाले २५–२०, २८–२६, २५–२० को सोझो सेटमा हेटौँडालाई पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता थाहा नगरको टिमले एक लाख रूपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हेटौँडा उपमहानगरको टिमले ८० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । भीमफेदी र बकैया गाउँपालिका सेमीफाइनलमा पराजित हुँदै सान्त्वना पुरस्कारस्वरुप ३०÷३० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै थाहा नगरपालिकाकी गंगा गुरुङले ७ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् । अन्य विधागत खेलाडीले जनही ४ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । उदीयमान खेलाडी, उत्कृष्ट स्पाइकर खेलाडी, उत्कृष्ट डिफेन्स खेलाडी हेटौँडा उपमहानगरपालिकाकी अप्सना उप्रेती, नेहा चौधरी, आइशा सिंह भएकी छिन् । उत्कृष्ट ब्लकर भीमफेदी गाउँपालिकाकी तुलसी चौधरी भएकी छिन् ।

यस्तै उत्कृष्ट सेटर थाहा नगरपालिकाकी लकी बलामी भएकी छिन् भने उत्कृष्ट प्रशिक्षक थाहा नगरपालिकाको किरण गिरी भएका छन् । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले विजेता र उपविजेतालाई ट्रफी तथा पुरस्कार वितरण गर्नुभयो ।