हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–३, सिद्धिकालीस्थित प्रजा माध्यमिक विद्यालयको ३८ औँ अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारले जानकारी दिनुभयो । अभिभावक भेलाको अवसरमा प्रधानाध्यापक सुनारले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै कार्यक्रमको अवसरमा कक्षा १ देखि ८ कक्षासम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण पनि गरिएको थियो । शिक्षक नारायण प्रसाद बर्तौलालाई विद्यालयमा नियमित उपस्थित भएको र शिक्षण सिकाई राम्रो भएका कारण सम्मान गरिएको प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।
गत वर्षसम्म आठ कक्षासम्म पठनपाठन भइरहेको विद्यालयले यस वर्षबाट नौ कक्षा पनि सञ्चालन गरेको छ । विद्यालयले गत चैतमा नौ कक्षा र १० कक्षा सञ्चालन गर्ने सम्झौता गाउँपालिकासँग गरेको थियो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि कालाखेतीलाई विद्यालयलाई आवश्यक पर्ने शिक्षक दरबन्दी, आर्थिक स्रोत, फर्नीचर, भवन लगायतका विषयमा जानकारी गराइएको थियो । ३ नम्बर वडा अध्यक्ष अनन्त अर्याल, शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, स्रोत शिक्षक बिदुर बिक्रम थापा, हिमराइट्स नेपालकी कुमारी वाइबा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराबहादुर प्रजा, शिक्षक अभिभावक सघका अध्यक्ष कर्ण बहादुर घलानको आतिथ्य रहेको थियो ।











