आँखाको पर्दा परिक्षण गरिँदैको तस्वीर ।

हेटौँडा : हेटौँडा सामुदायिक आँखा अस्पतालले हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा र टोलविकास संस्था समन्वय समितिको सहकार्यमा उपमहानगरपालिकाको बिभिन्न वडामा मधुमेहका बिरामीहरुको आँखाको पर्दा जाँच कार्यक्रम गर्दै आएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नं. २, ३, ७, ८, १०, ११, १७ र १८ मा आँखाको पर्दा जाँच कार्यक्रम सकिएको छ । अन्य वडाहरुमा पनि कार्यक्रम चाँडै नै शुरु हुँदैछ ।

हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकालीले मधुमेहले आँखामा असर गरी सकेपछि अन्तिम अवस्थामा मात्र विरामीहरु अस्पताल आउने गरेको बताउनुभयो । जसका कारण बिरामीहरुको दृष्टि जोगाउन गाह्रो हुने डा. थकालीको भनाइ छ । अस्पताल आउन नसकेका बिरामीहरुलाई घर आगनमा नै पुगेर जाँच गरिएको डा. थकालीले बताउनु भयो ।

मधुमेहले आँखाको पर्दामा असर गर्ने रोगलाई डाईविटिक रेटिनोप्याथी भनिन्छ । अन्धोपनको प्रमुख कारणहरु मध्ये यो पाँचौमा पर्दछ । मधुमेह भएका प्रत्येक ५ जनामा १ जनालाई डाईविटिक रेटिनोप्याथी भएको पाइएको छ । त्यसैगरी हरेक १० जना मधुमेहका विरामी मध्ये १ जना अन्धोपनको शिकार भएको पाइएको अस्पतालले उल्लेख गरेको छ । सन् २०२० को अध्ययन अनुसार विश्वमा ११ करोड जनसंख्या मध्ये ६० लाखलाई अन्धोपन भएको पाइएको थियो । विश्वमा २५ करोड मानिसलाई आफूलाई मधुमेह भएको थाहा कारणले आँखामा असर गर्ने कुराको बारेमा थाहा नहुने बताइन्छ ।

हालसम्म जाँच गरिएकोमा थोरै बिरामीहरुमा मधुमेहले धेरै असर गरेको पाइएको छ । उनीहरुलाई थप उपचारका लागि अस्पतालमा बोलाइएको छ । मधुमेहले आँखामा सामान्य असर गरेको पाइएमा औषधिको प्रयोगले निको पार्न सकिन्छ । धेरै असर गरेको छ भने लेजर तथा शल्यक्रिया गर्नु पर्ने हुन्छ डा. थकालीको भनाइ छ । उच्च पावरको चश्मा प्रयोग गर्ने, ४० वर्ष कटेका, मधुमेह उच्च रक्तचाप भएका बिरामीहरुले नियमित आँखा जाँच गराउनु पर्दछ । साथै परिवारका कुनै सदस्यलाई जलविन्दु भएको छ भने पनि नियमिति आँखा जाँच गराउनु पर्दछ ।