उत्कृष्ट कथा लेखक र कथा प्रस्तोताको रुपमा सम्मानित विद्यार्थीहरु ।

हेटौँडा : हेटौँडाका ३ वटा विद्यालयका विद्यार्थीका लागि आयोजना गरिएको कथा लेखन कार्यशाला शुक्रबार सम्पन्न भएको छ । ५ दिनसम्म सञ्चालन भएको कथा लेखन कार्यशालाको समापन कार्यक्रम हेटौँडा–३, बसामाडीस्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा भएको हो । कथा लेखन कार्यशालाको उद्घाटन कार्यक्रम हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयमा भएको थियो ।

क्यानोपी नेपालले हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा कथा लेखन कार्यशाला ‘कथा बुनौँ’ आयोजना गरेको हो । कार्यशालाको समापनको अवसरमा महेन्द्र किरण मावि र अमर माविका विद्यार्थीले तयार पारेको कथालाई नाटकको माध्यमबाट प्रस्तुती गरेका थिए । कार्यशालामा सहभागी भई उत्कृष्ट कथा लेखन र कथा वाचन गर्ने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

अमर माविबाट सुमी थिङ उत्कृष्ट कथा लेखकको रूपमा सम्मानित हुनु भएको थियो भने रोशिका भट्टराई उत्कृष्ट प्रस्तोता घोषित हुनुभयो । यसैगरी सिद्धार्थ माविबाट श्रेया राजवाहक उत्कृष्ट कथा लेखक घोषित हुनुहुँदा जीविता विष्ट उत्कृष्ट कथा प्रस्तोता हुनुभयो । महेन्द्र किरण माध्यमिक विद्यालयबाट अवय राई उत्कृष्ट कथा लेखक घोषित हुँदा विकी थिङ उत्कृष्ट कथा प्रस्तोता घोषित हुनुभयो ।

कार्यक्रमको समापनमा क्यानोपी नेपालका कार्यकारी निर्देशक अंगीरस कार्कीले हेटौँडाका तीनवटा विद्यालयमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्नुहुँदै आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस्तो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णले कथा लेखन कार्यशालाले विद्यार्थीहरूमा थप जोश, सृजनशीलता र सकारात्मक सोच विकास गरेको प्रतिक्रिया दिनुभयो । कार्यशालाको समापन कार्यक्रममा अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेती, महेन्द्र किरण माध्यमिक विद्यालयकी प्रधानाध्यापक तारा गौतमको पनि आतिथ्य रहेको थियो ।