सम्मानपछि खिचिएको सामूहिक तस्वीर।

हेटौँडा : चलचित्र पत्रकार संघ मकवानपुरले कलाकार र पत्रकारलाई सम्मान गरेको छ । शनिबार बिहान हेटौँडामा एक समारोहका बीच २ जना कलाकार र २ जना पत्रकारलाई सम्मान गरेको हो ।

चलचित्र पत्रकार संघ मकवानपुरले बाल कलाकार शुफला सापकोटालाई प्रशंसापत्र सहित सम्मान गरेको छ । हेटौँडाकी शुफला बोक्सीको घरमा बाल कलाकारको भूमिका निर्वाह गर्नुभएको थियो ।

यस्तै धनमान श्रेष्ठ स्मृति राष्ट्रिय चलचित्र कलाकर्मी सम्मान कलरिष्ट रेनिश फागोलाई प्रदान गरिएको छ । ५ हजार ५ रुपैयाँ नगदसहित फागोलाई सम्मान गरिएको हो ।

११ हजार १ सय ११ रुपैयाँ नगदसहित नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार अनन्त वाग्लेलाई प्रदान गरिएको छ । वाग्ले चलचित्र पत्रकार संघ नेपालका संस्थापक उपाध्यक्ष हुनुहुन्छ । यस्तै चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता पुरस्कार गोकुल अधिकारीलाई प्रदान गरिएको छ । अधिकारी स्वतन्त्र पत्रकार संघ मकवानपुरका निवर्तमान अध्यक्ष तथा रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर हुनुहुन्छ । अधिकारीलाई ५ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षता तथा बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्याम बहादुर खड्काको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष शान्तिप्रिय, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनको पनि आतिथ्य रहेको थियो ।