हेटौँडा : विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै पुलिस उपाधी नजिक पुगेको हो ।
पुलिसको जीतमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । देउवाले खेलको २१ औं, ४० औं र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने उपाध्यायले ३४, ६६ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
फाइनल प्रवेश गरेको पुलिस उपाधीका लागि बिहीवार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र संकटा क्लबबीचको विजेतासँग भिड्नेछन् । एपीएफ र संकटाबीचको सेमिफाइनल खेल मंगलबार नै दिउँसो हुनेछ । खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।










