सिस्नेरी : बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले हेटौँडा–काठमाडौं जोड्ने छेटो दुरीको कुलेखानी–सिस्नेरी–छैमले सडकको पुनः निर्माणको अनुगमन गर्नुभएको छ । आइतबार विपद् प्रभावित सडक पुनः निर्माणको कामको मन्त्री मास्केले अनुगमन गर्नुभएको हो ।
मन्त्री मास्केसहित काठमाडौंको दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, मन्त्रालयका सचिव अमृत श्रेष्ठ, यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका निर्देशक नविन सिंह, प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाका प्रमुख देवनारायण यादव लगायतले अनुगमन गर्नुभएको हो । मन्त्री मास्केले सिस्नेरी–दक्षिणकाली सडक खण्डको सलेन डाँडा, छैमले लगायतका क्षेत्रमा सडक निर्माणको क्रममा भएका अवरोध तथा समस्या बारे जानकारी लिनुभएको थियो । उहाँले सो क्षेत्रका स्थानीय तथा जनप्रतिनिधि र सरोकारवालासँग छलफल समेत गर्नुभयो ।
मन्त्री मास्केले कुलेखानी–सिस्नेरी खण्डका विपद् प्रभावित ३ खण्डको स्थलगत अवलोकन गर्नुभएको थियो । विपद्बाट क्षति पुगेको उक्त सडकको ३ खण्डामा ठेक्का लगाएर पुनः निर्माणको काम भइरहेको छ । सो ठेक्काहरुको गुणस्तर, प्रगति तथा व्यवस्थापनको विषयमा मन्त्री मास्केले अनुगमन गर्नुभएको हो । प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना मार्फत् ठेक्का लागेर सो सडकको पुनःनिर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ ।
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण सो सडक खण्डको ३ स्थानमा सडक बगाएको थियो । कुलेखानी जलाशयको पानीलाई निकास गर्दा सो सडक खण्डको ३ स्थानमा करिव १ किलोमिटर सडक बगाएको थियो । जस मध्ये कुलेखानी जलाशय मुनीको सिमखोला पुलमा समेत क्षति पुग्नुका साथै पहूँच मार्ग बगाएको थियो भने सिस्नेरी बजारमा २५० मिटर र ज्यामिरे खण्डमा ७०० मिटर सडक बगाएको थियो ।
स्तरोन्नतिसहित उद्घाटनको अन्तिम तयारीमा रहेको उक्त सडकको पिचसहितको भाग बगाएको थियो । उक्त खण्डको सडक बगाउँदा प्रदेश सरकारको २० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ट्रयाकसमेत नभेटिने गरी बाढीले उक्त सडक बगाएपछि करिव एक साता हेटौँंडा–काठमाडौं सम्पर्क समेत टुटेको थियो । तत्कालका लागि सडक खुलाउन सिस्नेरी खोलाको बगरबाट नै यातायात संचालनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
हाल उक्त सडक अन्तर्गतको ज्यामिरे र सिस्नेरी खण्डका लागि २ वटा ठेक्का सम्झौता भई काम भइरहेको उहाँले बताउनुभयो । सो खण्डमा प्लम्प्ट वालसहित मेसिनरी वाल लगाएर सडकको ट्रयाक निर्माणको काम भइरहेको छ भने सिमखोलामा बेलीब्रिज हाल्ने कार्य अघि बढाइएको छ । आगामी असारसम्ममा ट्रयाक तयार गरी ग्राभेल सडकबाट यातायात संचालनको तयारी मन्त्रालयले गरिरहेको र सोही अनुसार निर्माण व्यवसायीलाई कार्ययोजनासहित काम गर्न निर्देशन दिइएको सचिव श्रेष्ठले बताउनुभयो ।
अनुगमनका क्रममा मन्त्री मास्केले ठेक्का लागेका क्षेत्रको काम छिटो सक्न निर्देशन दिनुभएको छ । उहाँले नागरिकको सहजताका विषयमा कुनै बहनाबाजी नगरी काम गर्न निर्देशन दिनुभयो । मन्त्रालय र मातहतका निकायले ठेक्का लगाएका क्षेत्रमा भएका काम गुणस्तरीय र पारदर्शी गर्न उहाँले निर्देशन दिनुभयो । निर्माण व्यवसायीको भुक्तानी तथा समन्वयमा प्रदेश सरकारबाट कुनै समस्या नहने उहाँले बताउनुभयो । व्यवसायीले पनि कुनै पनि बहानामा काममा आलटाल गर्न नहुने उहाँको भनाई छ ।
मन्त्री मास्केका अनुसार समस्या भएका स्थानमा स्थानीय तह, प्रदेश सरकार लगायतका निकायले समन्वय गर्नेछ । नागरिकलाई समस्यामा राख्ने, आलटाल गरेर समय लम्ब्याउने काम निर्माण व्यवसायीहरुबाट भएमा मन्त्रालयले कारवाही गर्ने मन्त्री मास्केले चेतावनी दिनुभयो । अनुगमनका क्रममा नगरप्रमुख बस्नेतले सडक निर्माणका क्रममा भएका समस्याका विषयमा छलफलमा आउन उहाँले आग्रह गर्नुभयो । केही स्थानमा स्थानीयहरुबाट सडक निर्माणमा भएको अवरोध हटाउन र सहज वातावरण तयार गर्न आफूहरु तयार रहेको उहाँले बताउनुभयो । निर्माण व्यवसायीहरुले नागरिकलाई सास्ती हुने गरी कुनैपनि बहानामा काम रोक्न नहुने उहाँको भनाई छ ।











