हेटौँडा: उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा पुरूषतर्फ सेमीफाइनल समीकरण पूरा भएको हो । शनिबार भएको पुरूषतर्फ क्वाटरफाइनल खेलहरूमा जीत निकाल्दै हेटौँडा–११, १२, १७ र १९ नम्बर वडा सेमीफाइनलमा प्रवेश गरेको छ ।
पुरूषतर्फ हेटौंडा–११ ले हेटौंडा–४ लाई १९–२५, २५–२१ र १५–१० ले पराजित गरेको छ । दोस्रो खेलमा हेटौंडा–५ लाई हेटौँडा–१७ ले २५–२२ र २५–१८ ले हराएको छ । तेस्रो खेलमा हेटौँडा–६ लाई हेटौंडा–१९ ले २५–१५ र २५–१८ ले हराएको छ । चौथो खेलमा हेटौंडा–७ लाई २५–१२ र २५–२० ले हेटौँडा–१२ ले हराएको छ । यस्तै महिलातर्फ समूहचरणको विजेता बन्दै हेटौंडा–९ सेमीफाइनलमा प्रवेश गरेको छ । हेटौँडा–९ ले हेटौडा–११ लाई २५–१७ र २५–१८ ले हराएको छ । यस्तै समूहको दोस्रो खेलमा हेटौँडा–११ लाई हेटौँडा–१७ ले २५–१५ र २५–१० ले हराएको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार सेमीफाइनल र सोमबार फाइनल चरणको खेलहरू हुनेछ । २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाएका तत्कालिन राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता सयोजक नरेन्द्र मुक्तानले जानकारी दिनुभएको छ । प्रतियोगितामा महिला तथा पुरुषको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सान्त्वना हुने टिमले २० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ ८ वटा टिमको र महिलातर्फ ६ वटा टिमको सहभागिता रहेको मुक्तानले बताउनुभयो ।