हरेक दिन आफैंले आफ्नो हत्या प्रयास गर्ने क्रम बढ्दो छ । आफ्नै दैनिकी या अरु कसैको बद्नियतबाट चोटपटक लाग्ला कि भनेर सतर्कताका साथ दैनिकी गुजार्ने सचेत मानव जाति आज किन आफैं आफ गर्न अग्रसर छ । सहजता र असहजता जीवनको स्वभाविक विषय हो । मूलतः राज्य व्यवस्था नै अनुशासित नहुँदा समग्र नेपाली समाज अनुशासनहिन बनेको छ । तीन तहको सरकार परिकल्पना गरिएको छ । स्थानीय, प्रदेश र संघीय सरकारको क्षेत्राधिकार पनि तय गरिएको छ । तल्लो, मध्यम र उच्च तहमा बसेर आम नागरिकको सेवा र सहजताका लागि क्रियाशील हुनुपर्ने सरकारहरुको अकर्मण्यता नै आत्महत्याको मूल कारण हो ।
आम नागरिकको आधारभूत दैनिकी सहज छैन । गास, बास, कपासको सुनिश्चितता छैन । आजको समयमा पनि सार्वजनिक शिक्षा आमरुपमा कमजोर छ । स्वास्थ्य सेवा गुणस्तरीय, विश्वसनीय र आम पहूँचमा छैन । भ्रष्ट्राचार, अनुशासनहिनता चरम छ । इमान्दार, सज्जन र मिहिनेती मानिसहरु लज्जित हुनुपर्ने, कठिनाईको सामना गर्नुपर्ने अवस्था छ । जसका कारण आम मानिसमा चरम निराशा छ । चरम निराशाका बीच देखा पर्ने कठिनाईको सामना गर्न नसक्दा अन्ततः आफैं आफ्नो अन्त्यको कारण बन्ने अवस्था छ ।
समस्यै समस्यामा रहँदा पनि आत्महत्या भने समस्याको समाधान होइन । आत्महत्याले एउटा व्यक्तिले समस्याबाट छुटकारा पाउने अपेक्षा गरे पनि ती व्यक्तिसँग जोडिएका परिवार र समाजले कहिल्यै सुख पाउने छैन । आत्महत्याका घटनाको सार्वजनिक बहस पनि भइरहेको छैन । राज्यले, सञ्चार माध्यमले पनि आत्महत्याका घटनालाई सामान्यतः उजागर गरिरहेको हुन्न । यसलाई दुखद् मान्दै शान्त रहने प्रचलन नै छ । तर, यस्तो प्रचलनले आत्महत्याको समस्या न्यूनीकरण गरेको छैन । बरु अझ बढाइरहेको छ । समस्याको समाधान गर्ने गरी सबैले आआफ्नो पक्षबाट ध्यान दिनुपर्छ भनेर खुला बहस जरुरी छ ।
आत्महत्याको देशव्यापी तथ्यांक हेर्ने हो भने भयानक छ । आज उल्लेख्य संख्यामा सचेत नागरिकको मृत्युको कारण आत्महत्या भइरहेको छ । आत्महत्याको घटना न्यूनीकरण गर्न राज्यका निकायहरुले ध्यान दिनु जरुरी छ । ज्येष्ठ नागरिक, बालबालिकाबाट समेत आत्महत्याको प्रयास भएका छन् । आत्महत्याका लागि सामान्य असन्तुष्टि नै पर्याप्त हुने भइसकेको छ । परिवार, समाजमा सौहाद्र्धता, हार्दिकताको खडेरीले पनि व्यक्तिहरु निराश हुने क्रम बढ्दो छ । व्यक्तिको निराशा, समस्यामा राज्यले जिम्मवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । राज्यका निकायले आत्महत्या न्यूनीकरणका लागि ठोस काम गरेको छैन । कहीँ कतै सामान्य सतही गोष्ठी, अन्तरक्रिया बाहेक आत्महत्याको समस्या पहिचान गर्न आवश्यक अध्ययन, अनुसन्धान गर्ने, समस्या न्यूनीकरणका लागि प्रभावशाली रणनीति तय गरी कार्यान्वयन गर्नेतर्फ ध्यान जान सकेको छैन ।
परिवारका सदस्यले आत्महत्या गरेर पीडित बन्नु परेका व्यक्तिहरु खुलेर आत्महत्याको विषयमा चर्चा गर्न चाहँदैनन्, आत्महत्या पीडित हुनु नपरेकाले आत्महत्याको समस्यालाई बुझ्नै खोजिरहेका छैनन् । मर्नेहरुलाई कायर भएछ भनेर पन्छिने प्रवृत्तिमा सुधार जरुरी छ । राज्यका निकाय, सामाजिक अगुवा, समाजका सचेत वर्गले आत्महत्यालाई न्यूनीकरण गरी निश्चित समयपछि यस्ता घटना नहुने आधार तयार पार्नेतर्फ गम्भीर भएर काम गर्नु जरुरी छ । सरोकारवालाबीच आवश्यक समन्वय र प्रभावकारी योजनाका लागि कार्य प्रारम्भ होस् । आत्महत्याविरुद्ध सबैको हातेमालो होस् ।