हेटौँडा : साहित्य संगम मकवानपुरले वर्ष २०८१ मा कृति प्रकाशन गर्ने १२ जना स्रष्टालाई कृति प्रकाशन सम्मान समर्पण गरेको छ । शनिबार हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको सभाहलमा स्रष्टालाई सम्मान गरेको हो । २०८१ सालमा मकवानपुर जिल्लाका साहित्यकारले ४ वटा मुक्तक संग्रह, गजल संग्रह २ वटा, अनुसंस्करण एउटा, कथा संग्रह एउटा, कविता संग्रह एउटा, नियात्रा संग्रह एउटा, गीत संग्रह एउटा र संस्मरण संग्रह एउटा प्रकाशन गरेका छन् ।
लेखन कार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले साहित्य संगमले स्रष्टा सम्मान कार्यक्रम गरेको हो । ३५४ औं नियमित साहित्य सन्ध्याको अवसरमा साहित्य संगमले अनुसंस्मरण ‘अनुभूतिका आँखाहरु’ प्रकाशन गर्नुभएका ऋषिराम उपाध्याय पोखरेल, गजल संग्रह ‘घामका फूलहरु’ प्रकाशन गर्नुभएका तुलसी घिमिरे, नियात्रा संग्रह ‘संयात्राको संयोग’ प्रकाशन गर्नुभएका रमेशमोहन अधिकारीलाई सम्मान गरेको छ ।
यस्तै कविता संग्रह ‘बहिष्कृत आवाज’ प्रकाशन गर्नुभएका यश लामा, गीत संग्रह ‘आउँछ यादहरु’ प्रकाशन गर्नुभएका महेश सी आरोही, मुक्तक संग्रह ‘उज्यालोका बाछिटा’ प्रकाशन गर्नुभएका डीबी बर्तौला, गजल संग्रह ‘तृप्ति’ प्रकाशन गर्नुभएका राम कार्की, संस्मरण संग्रह ‘सम्झूँ कि बिर्सुँ’ प्रकाशन गर्नुभएका निर्मोही व्यास, मुक्तक संग्रह ‘गल्छेडाका धुनहरु’ प्रकाशन गर्नुभएका राजबाबु पहाडीलाई पनि सम्मान गरिएको छ । मुक्तक संग्रह ‘अन्तरध्वनि’ प्रकाशन गर्नुभएका किशन पौडेल, मुक्तक संग्रह ‘बन्द ढोकाको चित्कार’ प्रकाशन गर्नुभएका दिनेश शर्मा र कथा संग्रह ‘कठै’ प्रकाशन गर्नुभएका श्यामप्रसाद श्रेष्ठलाई सम्मान गरिएको हो ।
३५४औं नियमित साहित्य सन्ध्यामा रामप्रसाद आचार्य, राजकुमार चौधरी, सानुभाइ बिश्वकर्मा, सुवास सजल, जनार्दन खनाल, अनिल कोइराला, पुरुषोत्तम आचार्य, मनोज मधुर, देवराज तिवारी, उमेश तिमल्सिना, शान्ति प्रियवन्दनाले रचना वाचन गर्नुभयो । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा नियमित साहित्य सन्ध्या एवम् सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देलको पनि आतिथ्य रहेको थियो ।