हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरका अध्यक्ष प्रताप बिष्टको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।
शुक्रबार महिलातर्फ ५ नम्बर वडाले १७ नम्बर वडालाई र ९ नम्बर वडाले १२ नम्बर वडालाई पराजित गरेको छ । पुरुषतर्फ ११ नम्बर वडाले १७ नम्बर वडालाई पराजित गर्दा १९ नम्बर वडाले ७ नम्बर वडालाई पराजित गरेको छ । यस्तै ५ नम्बर वडाले ४ नम्बर वडालाई पराजित गर्दा १२ नम्बर वडाले ६ नम्बर वडालाई पराजित गरेको छ ।
२०७२ सालको महाभूकम्पमा परी ज्यान ग्ुमाएका तत्कालिन राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिला तथा पुरुषको उपाधि विजेता टिमले ७५ हजार रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सान्त्वना हुने टिमले २० हाजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ ८ वटा टिमको र महिलातर्फ ६ वटा टिमको सहभागिता रहेको छ । फाईनल खेल भोलि आइतबार हुनेछ ।