हेटौँडा : खाद्य सुरक्षा तथा जैविक खेती प्रवद्र्धनका लागि अभियान सुरु गरिएको छ । खाद्यका लागि कृषि अभियानले गत बैशाख ९ गतेबाट रासायनिक मल र विषादीको प्रयोग रोक्न तथा पोषणयुक्त खाना सुनिश्चित गर्न जैविक जागरण अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत पूर्वी नेपालका विभिन्न जिल्ला पुग्ने आयोजकले जनाएको छ । कृषहरुको अधिकार, जैविक खेती प्रणाली प्रवद्र्धन, स्थानीय तह र प्रदेश सरकारका प्रयासका बारेमा छलफल गर्दै अभियान संचालन गर्ने आयोजनको भनाई छ । बैशाख ९ गतेदेखि सुरु भएको एक महिने अभियानको ५ औं दिन शनिबार टोली हेटौँडा आइपुगेको हो । सो अवसरमा मकवानपुरका सञ्चारकर्मीहरुसँग भेटघाट कार्यक्रम गर्दै उनीहरुले खाद्य सुरक्षा र विषादीको प्रयोगले पर्यावरण तथा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको बताएका थिए । हेटौंडास्थित बागमती प्रदेशसभाका सभामुख तथा संसदीय समितिका सभापतिहरुसँग कृषि क्षेत्रका नीति कार्यक्रमबारे छलफल गरेका थिए । उक्त भेट गरी प्रकृतिमैत्री कृषि नीति निर्माणका लागि टोलीले सुझाव समेत दिएका थिए ।

अभियानका संयोजक उद्धव अधिकारीले स्थानीय विशेषता र प्रकृतिसँग समन्वय गर्दै जैविक खेती प्रणालीतर्फ जानुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै अभियान चलाइएको बताउनुभयो । सबै नागरिकलाई स्वस्थ र पोषणयुक्त खाना उपलब्ध गराउने प्राकृतिक अधिकार सुनिश्चित गराउन, महिला, दलित, आदिवासी जनजाति, किसान, विपन्न समूहको न्यायसंगत हक स्थापित गर्न र सारोकारवाला निकायलाई जवाफदेही बनाउने अवसरका रुपमा अभियानलाई लिइएको उहाँले बताउनुभयो ।

यस अभियान अन्तर्गत विभिन्न स्थानीय तह, किसान समूह, सञ्चारकर्मीसँग अन्तरक्रिया, छलफल, कृषि फार्महरुको अवलोकन तथा चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाई छ । विषमुक्त, पोषणयुक्त खाना सधैँका लागि सबैका लागि उपलब्ध गराउने दृढ अठोटका सञ्चालित जागरण अभियान जेठ ७ मा काभ्रेको पाँचखालमा पुगेर समापन हुने उहाँले जानकारी दिनुभयो ।