हेटौँडा: शिक्षक आन्दोलनका कारण प्रभावित भएको भर्ना अभियान मकवानपुरगढी गाउँपालिकाले सोमबारदेखि सुरु गरेको छ । मकवानपुरगढी गाउँपालिकाले पठनपाठनलाई अगाडि बढाउने र आनदोलनमा सहभागी शिक्षकहरुलाई ऐक्यवद्धता गर्दै भर्ना अभियान सुरु गरेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ मकवानपुरगढीका अध्यक्ष खिलप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
पालिकाभित्र रहेका सबै विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग बिहीबार बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेलाई ध्यानाकर्षणपत्र बुझाएको छ । पत्रमा सोमबारदेखि भर्ना अभियान सुरु गर्ने, बाल विकास सहजकर्ता शिक्षकहरुलाई स्थानीय तहले तलबको सुविधा दिनुपर्ने र राज्यको कोषबाट तलब लिने शिक्षक, निजामति कर्मचारी, जनप्रतिनिधि जो कोहिले पनि आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने माग गरेको चौलागाईले जानकारी दिनुभयो ।
अध्यक्ष चौलागाईका अनुसार आन्दोलनमा समावेश नहुनु भएका शिक्षकहरुलाई सोमबारबाट विद्यालयमा उपस्थित भएर भर्ना अभियान र पुस्तक वितरणमा सहयोग गर्न अनुरोध गरिएको छ । शिक्षकहरु विद्यालयमा उपस्थित नभए विद्यालयमा भएका निजी स्रोतका शिक्षक, स्वयम्सेवी अथवा व्यवस्थापन सदस्यहरु खटेर भए पनि विद्यालय संचालन गर्ने उहाँको भनाई छ ।
घरमै रहनुभएका शिक्षकहरुलाई आन्दोलनमा रहनु भएका शिक्षकहरु फर्किए पश्चात मागहरु सम्बोधन नभए विद्यालयमा रहनु भएका शिक्षकहरुलाई पुनः आन्दोलनमा जान आग्रह गरिएको छ । उहाँले भन्नुभयो “यसैगरी आन्दोलन लम्बिँदै जाने हो भने अभिभावक, देशैभरिका विद्यार्थी र महासंघसहित आन्दोलनमा उपस्थित हुनेछौँ ।”
वर्षेनी १ हजारका दरले मकवानपुरगढी गाउँपालिकामा विद्यार्थी घट्दै गएका छन् । यसैगरी शिक्षक आन्दोलन लम्बिँदै जाँदा झन विद्यार्थी सङ्ख्या घट्दै जाने उहाँले बताउनुभयो । सामुदायिक विद्यालय बन्द रहँदा भविष्यको चिन्ताका कारण अभिभावकहरुले बालबालिकालाई निजी विद्यालयमा भर्ना गराउन थालेका छन् । मकवानपुरगढीमा आधारभूत (कक्षा ५ सम्मका) विद्यालय २० वटा, निमावि (कक्षा ८ सम्मका) ७ वटा र माध्यमिक १० वटा विद्यालय रहेका छन् । बाल विकास सहजकर्ता शिक्षकहरुलाई स्थानीय तहले तलबको सुविधा दिनुपर्ने व्यवस्था सम्भव नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछानेले जानकारी दिनुभयो ।











