हेटौँडा : मकवानपुर क्रिकेट संघको आयोजनामा यू–१६ टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मकवानपुरका पूर्व कप्तान निरज श्रेष्ठको स्मृतिमा तेस्रो संस्करणको प्रतियोगिता संचालन हुन लागेको प्रतियोगिता संयोजक बिनोद कुमार बानियाँले जानकारी दिनुभयो ।

प्रतियोगिता बैशाख २४ गते बुधबारदेखि बैशाख २८ गते आइतबारसम्म संचालन हुने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि अहिलेसम्म ६० जना खेलाडीले आवेदन दिएका छन् । राउण्ड रोविन आधारमा ५ वटा टिममा खेलाइने उहाँले बताउनुभयो । जिल्ला टिम छनोटका लागि पनि यस सस्कंरण यु–१६ का आधारमा संचालन गरिएको उहाँले जानकारी दिनुभयो । आउँदो जेठको पहिलो साता काठमाडौंमा आयोजना हुने बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा समावेश हुन यो खेलबाट उकृष्ट १४ जना खेलाडी छनोट गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट र सान्त्वना हुनेहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगिता संचालनका लागि २ लाख ६४ हजार रुपैयाँ लाग्ने उहाँको भनाइ छ । श्रेष्ठको स्मृतिमा संघले पहिलो र दोस्रो संस्करण विद्यार्थी केन्द्रित विद्यालयमा गर्दै आएको थियो । प्रतियोगिता संचालनका लागि नेपाल क्रिकेट संघले ३० हजार रुपैयाँ र दर्ता भएको खेलाडीहरुबाट दर्ता शुल्क एक हजार रुपैया लिएको उहाँले जानकारी दिनुभयो । यस्तै स्वर्गीय निरजका साथीहरुले पनि आर्थिक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।